प्रहरी वरिष्ठ नायव निरीक्षक मृत्यु प्रकरण: प्रहरीद्धारा अनुसन्धान सुरु

- प्रहरी अधिकृत नै खाजा घरमा मृत फेला पर्नुले आम नागरिकहरुमा अनेक शंका उपशंकाहरु पैदा भएको छ ।

-


     हिडन खबर    
     श्रावण ९ गते २०८० मा प्रकाशित


गएराती मृत फेला परेका इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक उज्जल पौडेलको मृत्युबारे प्रहरीले अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का नेतृत्वको टोली घटनास्थलमा पुगि अनुसन्धान सुरु गरेको हो ।

पौडेल बडिगाड गाउँपालिका ६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबारराति मृत फेला परेका थिए । घटना स्थलको प्रारम्भीक अवस्थाको बारेमा जानकारी दिँदै प्रमुख खड्काले आफुहरु घटना स्थालमा पुग्दा सव होटलको भुइतललामा रहेको कोठाको ढोका नजिकै उत्तानो अवस्थामा फेला परेको बताउनुभयो ।

मृतक पौडेलका आफन्तहरु घटना स्थलमा आइसकेकोले मुचुल्का गरि शव पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको प्रमुख खड्काले बताउनुभयो ।

सोमवार दिनभर वडिगाड खोलमा बालुवा उत्खननको अनुगमन गरेर फर्केका पौडेलले साँझ खारा प्रहरी चोकीको टोली फिर्ता पठाई इलाका प्रहरी कार्यालय भिमगिठेतर्फ जाने क्रममा उक्त होटलमा खाजा खान पसेको प्रारम्भीक अनुसन्धानले देखाएको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताउनुभयो ।
प्रहरीले होटल सञ्चालक महिला आशा कुँवर र उनका छोरा २१ वर्षीय विनोद कुँवरलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।

प्रहरी अधिकृत नै खाजा घरमा मृत फेला पर्नुले आम नागरिकहरुमा अनेक शंका उपशंकाहरु पैदा भएको छ ।

समाजमा घटेका घटनाहरुको अनुसन्धान गर्ने प्रहरी अधिकृतनै मृत फेला परेको घटनाको सुक्ष्म अनुसन्धान गरि प्रहरीले घटनाको वास्तविकता ल्याउनुपर्ने स्थानियहरुले माग गरेका छन् ।