साउने सोमबार : धार्मिकस्थल गौरीधाम र तित्याङको आशापूर्णेश्वर मन्दिरमा दर्शनार्थीको भीड

-


     सुवास आचार्य    
     श्रावण १ गते २०८० मा प्रकाशित


साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रतबसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी मनाएका छन् ।
सौरमास अनुसार साउनको पहिलो सोमबार बागलुङका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।
प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल गौरीधाम शिव मन्दिर, बागलुङ नगरपालिका ९ तित्याङको आशापूर्णेश्वर मन्दिर लगायतका शक्तिपीठहरुमा बिहानै देखि दर्शनार्थीको भीड लागेको हो ।

जिल्लाकै मुख्य शक्तिपीठको रुपमा रहेको गौरीधाम शिव मन्दिरमा बिहान चार बजेदेखि दिनभरमा १० हजार वढी दर्शनार्थीले मन्दिरको दर्शन गरेको गौरीधाम शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बहादुर जिसीले बताउनुभयो ।

बागलुङ नगरपालिका ९ तित्याङको तित्याङको आशापूर्णेश्वर मन्दिरको भौतिक पुर्वाधारको विकास भए संगै साउनको सोमबारमा व्रत बसेका महिला भक्तजनको उपस्थिति बाक्लो हँदै जान थालेको छ।बागलुङ नगरपालिका ३ चिप्लेटी वस पार्कबाट तित्याङ जोडने झोलुङगे पुल वनेसँगै भक्तजन वढेका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बताउनु भयो ।

साउन महिना र सोमबार भगवान शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गरेको जनाइएको छ। मन्दिर परिषरमा १ सय ८ बरपिपल रोपिएकोले मन्दिरमा भक्तजन वढेका छन् । त्यस्तै काठेखोला गाउँपालिका ६ को रामकोट शिवमन्दिरमा सयौं भक्तजन पुगेको थिए ।

सौरमासअनुसार आजको सोमबार शुद्ध मानिने भएकाले कालिगण्डकीबाट शुद्ध जल ल्याई शिवलाई अर्पण गर्ने भक्तजनको लर्को लागेको छ। भगवान् शिवले शुद्ध जल रुचाउने भएकाले कालिगण्डकीको शुद्ध जल ल्याएर चढाउने भक्तजनको भीड लागेको हो। विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । यो महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

साउन २ गतेदेखि अधिकमास लाग्ने भएकाले अर्को सोमबार व्रत गर्नु हुने वा नहुनेमा धर्मशास्त्रीबीच मतान्तर देखिएको छ। कति भक्तजनले भने चान्द्रमास अनुसारको पहिलो सोमबार अर्थात् गत सोमबारदेखि नै व्रत सुरु गरेका छन्। सौरमासअनुसार यो वर्षको साउनमा पाँच वटा सोमबार परेको छ।