बागलुङ नगर खानेपानीको निर्वाचन अनिश्चितकालका लागि स्थगित

-


     राम प्रसाद घिमिरे     
     असार २६ गते २०८० मा प्रकाशित


बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन अनिश्चितकालका लागी स्थगित भएको छ ।

मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले आगामी साउन ६ गते हुने भनिएको निर्वाचन अनिश्चितकालकालागि स्थगित गरेको निर्वाचन समितिका संयोजक भिमसेन पन्तले हिडन खबरलाई बताए ।
साउन ६ गतेको निर्वाचनको कार्यतालिका आज २६ गतेदेखि सुरु भएको भएपनि अगुवा उपभोक्ताहरुले संस्थाको अवैधानिक कदमहरुमा नसच्याएसम्म निर्वाचन रोक्न माग गर्दै २३ घते उजुरी दिएका थिए ।

के थियो उजुरीमा:
संस्थाको आगामी साउन ६ गते हुने निर्वाचन रोक्न माग गर्दै अगुवा उपभोक्ताहरुले संस्थाका पछिल्ला सम्पुर्ण निर्णयहरु अवैधानिक भएको, प्रत्येक वर्षमा गर्नुपर्ने साधारणसभा ३ वर्षमा गरिएकोमा गणपुरक सङ्ख्या नपुगी किर्ते हस्ताक्षर गरिएको, साधारणसभाले चुनेका प्रतिनिधिहरुलाई कुनै समन्वय नगरी समितिले आफूखुसी निर्वाचन घोषणा गरेको, साधारणसभाले संस्थामा भएको आर्थिक हिनामिनाको यथार्थ विवरण पत्ता लगाई क वर्गको लेखापरीक्षकबाट लेखापरीक्षण गर्नुपर्ने म्यान्डेट दिएको भएपनि नगरिएको र संस्था आर्थिक अपचलन भएको भन्दै निर्वाचन रोकी पुन साधारणसभा गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।