माइतीघरमा सहकारी पीडितहरू धर्ना बसेको एक महिना पुग्यो, सरकार मौन

-


     राजेशचन्द्र राजभण्डारी     
     असार १९ गते २०८० मा प्रकाशित


सहकारी संस्थाबाट आफ्नो बचत गरेको रकम फिर्ता नपाएपछि काठमाडौ माइतीघर मण्डलामा आन्दोलन गरिरहेका सहकारी पीडितहरू धर्ना बसेको एक महिना पुगेको छ । रकम प्राप्त हुने कुनै आधार फेला फेला नपरे पनि आन्दोलनकारीलाई राजनीतिक दलका नेता तथा सांसदहरूको समर्थन बढेर गएको छ ।
धर्नामा सरकारले कुनै सुनुवाइ नगरेको आवाज उठेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर तोसिमा कार्कीले आन्दोलनमा ऐक्यबद्धता जनाएकी छन् । सहकारीका कारण पीडितहरूमध्ये कतिपय डिप्रेसनमा पुगेको, कतिपय आत्महत्या गर्ने अवस्थामा पुगेकाले छिटो समस्या समाधान गर्न आफूले रचनात्मक भूमिका खेल्ने उनले बताएकी छन् । कार्कीका अनुसार सरकारले लापरबाही ढंगले सहकारी संस्था खोल्ने अनुमति दिएकाले त्यसको अनुगमन र नियमनको अभावमा आज गम्भीर समस्या आएको हो ।उनले भनिन्, ‘सहकारी संस्थाहरु नीति र विधिभन्दा बाहिर गएकाले समस्या आएको हो ।’
सरकारले कडा कदम चाल्न नसक्दा दिनहुँ सहकारी संस्थाहरू बचत रकम अपचलन गरेर फरार हुने क्रम बढेको उनको भनाई छ । पीडितहरूको समस्याबारे संसदमा आवाज उठाउने र सहकारी मन्त्रीलाई भेटेर पीडितको आवाज सुनाउने कार्कीले प्रतिबद्धता जनाइन् ।सोही पार्टीका अध्यक्ष रवि लामिछानेले गत साता माइतीघर पुगेर सहकारी पीडितको समस्या समाधानमा भन्दा श्रीमती निकिता पौडेल संलग्न सहकारी संस्था र पौडेलको भूमिकाबारे बताएका थिए । निकिताले कुनै पनि सहकारीबाट रकम हिनामिना नगरेको उनको भनाई थियो ।

सहकारी पीडितहरु एक महिनादेखि धर्नामा बस्दासमेत सरकारले कुनै सुनुवाई नगरेपछि उनीहरु थप मर्कामा परेका छन् । माइतीघर मण्डलामा जेठ २० गतेदेखि देशभरका सहकारी पीडितहरू २४ घण्टे धर्नामा बसेका छन् । काठमाडौंका नाम चलेका ओरेण्टल सहकारी, देउराली सहकारी, कान्तिपुर सहकारी, शिवशिखर बहुउद्देश्यीय सहकारी, इमेज बचत तथा ऋण सहकारी संस्थालगायत तीन दर्जनभन्दा बढी सहकारीबाट पीडित सदस्यहरू आफ्नो बचत फिर्ताको माग गर्दै धर्नामा बसेका छन् ।

बागलुङ ढोरपाटन नगरपालिकाका मेयर अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपाली हजारौं सदस्यको दुई अर्बभन्दा बढी रुपैयाँ अपचलन गरेर जेठ ५ गतेदेखि फरार छन् । तर, सरकारको कुनै पनि निकायले उनको खोजीमा चासो देखाएका छैनन् ।