
घरबेटीलाई खुल्ला पत्र
मिति : २०८० असार १५ शुक्रबार
स्थान : बागलुङ बजार
आदरणिय घरबेटीज्यू,
हजुरहरु पक्कै आरामै हुनुहुन्छ किनकी हामीले सदैव तपाईको भलो चाहिरहेका छौं । हजुरलाई भुल्नै सक्दैनौ त्यसैले त आज पनि यो पत्रमार्फत सबै घरबेटीहरुलाई सम्झीईरहेको छु । धेरै कुराहरु केही छैनन, हजुर र हजुरको घरजग्गामा भाडामा बसेर जिविकोपार्जन गरीरहेका हामी र हजुरहरुको सम्बन्धलाई मात्र स्मरण गराउन चाहेको छु । यसलाई पढि दिनुहोला, सुनि दिनुहोला र मनन गरिदिनु हुन विनम्र अनुरोध गरेको छु ।
हुन त हजुरले जग्गा र घरमा लगानी नगरेको भए शहर बन्ने थिएन होला अनी हामीले जोखिममा लगानी नगरेको भए बजार बन्ने पक्कै थिएन । शहर र बजार भनेको फरक हो कि भन्ने बुझाई छ, ठुला ठुला भवन हुँदैमा बजार पनि कहाँ बन्छ र रु बजार भनेको त बिक्रेता र क्रेताको जमघटमा आर्थिक कारोबार हुने स्थान हो । त्यसैले हजुरले आफ्नो परिचय दिदाँ पनि मेरो घर कुनै शहरमा नभनी बजारमा छ भन्दा कति गर्विलो हुन्छ होइन त रु
हजुरहरुको शहरलाई बजार बनाउन जोखिम बहन गरेका हामी र तपाईहरुको सम्बन्ध कस्तो अचम्मको छ । पानी जमेर, झाडीले भरिएको हजुरको जग्गालाई सफा बनाएर हजुरहरुको भाषामा छाप्रो हाम्रो बुझाईमा घर निर्माण गरी सुन्दर बनाउँदा हजुरकै इज्जत बढेको छ । हजुरले घर बनाउँदै गर्दा घर बनाउन सहयोग पु¥याउँदै सटर कोठाको पेश्की दिएर हजुरको सहकर्मी पनि बनेका छौं । हजुरलाई साह्रो गाह्रो पर्ला भनेर घर भाडा पेश्की दिएर सहयोग गरेको पनि हो ।
सटरमा सानो तिनो व्यवसाय सञ्चालन गरेर बस्ने हामीले हजुरको घरलाई आफ्नै ठानेर प्रत्येक दिन हजुरको आँगन सफा गर्ने असल कुचिकार पनि बनिरहेका छौं । हजुरको उपल्लो तलामा फोहर नजाओस भनेर पटक पटक सफाईकर्मी पनि बनिरहेका छौं । हजुरले पालिकाको फोहोर गाडीमा फोहोरको पोका फाल्न गाह्रो मान्दा हामीले उचालेर हजुरकै सहयोगी बन्दै हजुरको घर सजावट र रंगरोगन गरेर असल ज्यामी पनि त बनिरहेका छौं । नाली बिनामा जग्गामा नालि बनाएका छौं, ढकनी नभएका नालीमा ढकनी हालेका हौं, सरकार र घरबेटीको काममा पनि सामाजिक उत्तरदायित्व बहन गरेका छौं ।
आदरणिय घरबेटीज्यू,
तपाईलाई विद्युत कार्यालय, खानेपानी, टेलिकम जान धौ हुँदा हामी गएर बिल भुक्तानी गर्ने कर्मचारी पनि बनेका छौं । त्यसैमा सबमिटर राखेर विद्युत महसुल भुक्तानीको असल पार्टनर बनेका हौ, कोठा र भाडामा बस्ने व्यक्ती गनेर खानेपानीको बिल तिर्न पनि साझेदारी गरेका छौं ।
हजुरले तिर्नु पर्ने बहाल कर पनि हामीले तिरेर हजुरलाई असल करदाताको सुचिमा हजुरको नाम चढाउन सहयोग गरेका छौं । सरकारले पनि हजुरलाई माया गर्छ हामीलाई निचोर्ने काम गर्छ र पनि खुसीका साथ जोखिम बहन गरीरहेका छौं ।
घरबेटी बाआमा, दाजुभाई, दिदिबहिनी, सम्झनुहोस् त हजुरहरुले कस्को घर अग्लो, कस्को जग्गा धेरै भनेर छिमेकीसँग झगडा गरेर कैयौं दिन बोलचाल नगर्दा पनि हामी भाडावालाहरु शान्तीकर्ता बनेर हजुरहरुको राम्रो सम्बन्ध स्थापित गराएका पनि छौं । हजुरको बारेमा कसैले नराम्रो बोल्दा पनि हामीले हजुरलाई राम्रो पार्न धेरै सबालजवाफ पनि गरिरहेका छौं ।
हजुरका छोरा बुहारी, आफन्त घरमा छैनन र पनि हामीले घरबेटी बा, आमा, दाजु, भाउजु, भनेर सम्बोधन गर्दै दिनानु दिन हजुरहरुको आफन्तको अत्यार मेटाई रहेका छौं । हजुरले कसरी सम्झनुहुन्छ हामी हजुरको असल आफन्त बनेका छौं । हाम्रो घरमा आएका ताजा र मिठा खानेकुरा हजुरलाई दिएर कहिलेकाँही कोसेली दिने आफन्त पनि हामी नै होइन र रु
हजुर बिरामी भएको समय सम्झनुहोस् त, हामी नै दौडेर उपचार पनि गराउन सहयोग गरेका छौं, नियमित ओखती खुवाउने हामी कहिलेकाहीँ हजुरलाई हामीले ऋणमा लिएको सवारी साधनमा राखेर अस्पताल पनि पु¥याएका छौं । हजुरको दीर्घ जिवनको कामना गर्दै साँझ बिहान हजुरसँग हात समातेर वार्किङमा पनि सहयात्री बनिरहेका छौं । अनी हजुरको वार्किङ स्टीक भाँचिएको बेला गाउँबाट लौरी मगाएर पनि त सहयोग गरेकै छौं ।
हजुरका चिठी पत्र, निमन्त्रणा कार्डहरु सुरक्षित रुपमा हाम्रो काउण्टरमा राखेर साँझ बिहान हरुलाई विनम्रताका साथ पु¥याउने असल हुलाकी पनि हामी बनिरहेका छौं । हजुरको धार्मिक सामाजिक सम्बन्धलाई राम्रो बनाउन पनि पटक पटक सहयोग गरिरहेका छौं । दिनहुँ आउने मगन्तेहरुलाई पाँच दश रुपैया सहयोग गर्दा पनि घरबेटीको भलो होस भनेर उस्ले दिएको आसिस पनि हजुरलाई नै लागेको छ त्यसमा पनि हामी कति खुसी छौं ।
सम्झनुहोस् त घरबेटीज्यू, हजुरका नातेदारहरु आउँदा पानि चिया पिलाएर पनि कैयौं पटक हामीले पठाएका छौं । हजुरको घरमा आयोजना भएका खुसीका समारोह, उत्सवहरुमा हामीले बिना शर्त निशुल्कमा दिनौं दिन बिताएका छौं, हजुरहरु शोकमा पर्दा हामी कहिल्यै भागेनौ हजुरले भन्दा बढि पिडाबोध गरी सहयोग नै गरिरहेका छौं ।
अझै कति गहिरा कुराहरु छन, हजुरलाई पढ्न सुन्न झिजो लाग्ला भनेर यो पत्र छोटाउँदै छु । घरबेटीज्यू, माथी भनेको जस्तो नभएको भए आज हजुरको घरमा माकुराको बास हुनेथियो न बजार बन्थ्यो न त हजुरको त्यो इज्जत बढ्थ्यो, अझै पनि हजुरको भलो चाहेर धेरै समय हजुरसँगै बिताउने रहर र इच्छा रहेको छ ।
घरबेटीज्यू, विश्वभर कोभिड जस्तो महामारी आउँदा पनि हामीले हजुरलाई साथ दिएकै हो छोडेर गएनौं । अहिले विश्वमा र हाम्रो देशमा आर्थिक संकट आईरहेको तपाईलाई पनि थाहा छ, बैंक तथा वित्तिय संस्थाले हाम्रो ऋणको व्याज दोब्बर बढाएर हामीलाई धरधरी रुवाएको छ, सरकार सुन्दैन देख्दैन बोल्दैन हजुरले त हामीलाई राम्ररी चिन्नु भएको छ, त्यसैले हजुर निष्ठुरी नबिन दिनु होला है ।
पहिला पहिला त हजुरले नै भनेका पनि हो नी मेरो घर लक्षणको छ बाबु तिम्रो व्यवसाय कति राम्रो भनेर । अहिले उही घरमा पनि उही व्यवसायमा पनि कुनै दिन शुन्य कारोबार छ, यसमा न तपाईको दोष छ न मेरो दोष नै छ ।
यस्तो अप्ठायारो दिनमा हजुरले केही महिनाको घर भाडा छुट दिएर असल अभिभावक बनिदिनु विनम्र अनुरोध गरेको छौ, हजुरले असहज नमानी यत्ती गरिदिदाँ हामी जिवनभर हजुरप्रति ऋणी बन्ने छौं । माथि भने जस्तै कति हो कति गुन तिर्ने छौं, हामीले पनि लगाएका गुनहरु सम्झेर हजुरले ठुलो मन बनाई दिनु हुने छ भन्ने पूर्ण विश्वास लिएका छौं ।
यदि हजुरले हामीलाई सहयोग गरेमा हजुरले गरेको सहयोगको जानकारी स्थानीय सरकारलाई बनाएर हजुरले तिर्ने करमा सहुलियत दिन पनि अनुरोध गर्ने छौं अनी हजुरसँग जिवनभरको यात्रा गर्न पनि तयार नै छौं । हजुरले एक पटक हाम्रा कुरा मनन मात्र गरिदिनु होला ।
भन्न पनि डर डर जस्तो लाग्छ, छिमेकी घरबेटीले भाडा तिर्न नसके घर खाली गर भनेर देखाएको अभद्र व्यवहार त हजुरले गर्नु हुन्न मलाई विश्वास छ अब त्यो छिमेकीको घरमा कोही भाडामा बस्न आउने छैनन हामीले पनि भने छौं तर हजुर त हाम्रो असल अभिभावक पनि हो, त्यसैले एक पटकलाई हामीलाई सहयोग गरिदिनु होला ।
मुलुकभर भाडामा बस्ने उद्यमी व्यवसायीको तर्फबाट
नरेश कँडेल
अध्यक्ष
बागलुङ उद्योग वाणिज्य संघ












