
पोखरा । ईम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एसोसिएसन (एगा) पोखराले बागलुङ जिल्लास्थित ढोरपाटन सिकार आरक्षण क्षेत्रको अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरेको छ।
हिमाली क्षेत्रमा विकसित हुँदै गएको ट्रेकिङ संस्कृति, हिमाली दृश्यावलोकन, सांस्कृतिक पर्यटन तथा वन्यजन्तु अवलोकनको अध्ययन गर्ने उद्देश्यले संस्थाले तीनदिने भ्रमण आयोजना गरेको हो।
भ्रमणका क्रममा ढोरपाटन सिकार आरक्षण क्षेत्रभित्र रहेका विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन, स्थानीय पर्यटन व्यवसायीहरूसँग अन्तरक्रिया तथा पोखराको लेकसाइड र ढोरपाटन क्षेत्रको पर्यटन विकासका थप सम्भावनाबारे छलफल गरिएको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो।
नेपालको एक मात्र कानुनी सिकार आरक्षण क्षेत्रका रूपमा परिचित ढोरपाटनमा निश्चित सिजन र अनुमति लिएर सीमित संख्यामा नाउर तथा झारलको सिकार गर्न पाइन्छ।
प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा साहसिक पर्यटनका दृष्टिले अन्तर्राष्ट्रिय रूपमा परिचित यस क्षेत्रसँगै चार हजार मिटरभन्दा बढी उचाइमा रहेको बुकी पाटनको यात्राले फरक अनुभूति दिलाएको संस्थाकी उपाध्यक्ष गीता ढकालले बताउनुभयो।
४८ सदस्यीय भ्रमण टोलीले ढोरपाटनस्थित उत्तरगंगा नदीको मुहानलगायतका क्षेत्रहरूको अवलोकन गरेको संस्थापक अध्यक्ष बेदप्रसाद पाण्डेले जानकारी दिनुभयो।
यात्राका क्रममा मनोरम हिमाली दृश्य, बुकी (उच्च हिमाली घाँसे मैदान), दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकनका साथै ट्रेकिङ र प्रकृतिसँग रमाउने अवसर प्राप्त भएको संस्थाकी सचिव माया सुवेदीले बताउनुभयो।
अध्ययन तथा अवलोकन भ्रमण टोलीले बागलुङस्थित कालीका मन्दिरमा दर्शनसमेत गरेको थियो।
भ्रमणमा संस्थाका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठसहित पदाधिकारी, कार्यसमिति सदस्य, सद्भाव सदस्य तथा संस्थामा आबद्ध अन्य सदस्यहरूको सहभागिता रहेको थियो। भ्रमण टोलीको संयोजन संस्थाका सदस्य रामकृष्ण तिमिल्सिनाले गर्नुभएको थियो।भ्रमण मनोरञ्जनात्मक, ज्ञानवर्द्धक तथा अध्ययनमूलक रहेको अनुभव सहभागीहरूले व्यक्त गरेका छन्।









