
बागलुङ ,असार १
नेपाली लोकदोहोरी संगीत क्षेत्रमा नयाँ सांगीतिक कोसेली ‘मलाय अन्त नजर नलाए’ सार्वजनिक भएको छ। बिमला श्रीस र बाबु कृष्ण परियारको सुमधुर स्वरमा सजिएको यस गीतले सार्वजनिक भएको दिनमै श्रोतामाझ उत्साहजनक चर्चा बटुल्न थालेको छ।
गीतमा प्रेम, भावना र नेपाली मौलिक संस्कृतिको गहिरो भावलाई सरल र आकर्षक रूपमा प्रस्तुत गरिएको छ। शिवा कनौजे मगरको शब्द तथा संगीत रहेको यस गीतको एरेन्ज पनि उहाँकै हो भने मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्।
गीतको भिडियोले पनि दर्शकको ध्यान तानेको छ। भिडियोमा बबिन सिंह ठाकुरी र सुजाने सिंह खड्काको जीवन्त अभिनय देख्न सकिन्छ। उनीहरूको प्रस्तुति गीतको भावसँग मेल खाने खालको छ।
निर्देशक तथा कोरियोग्राफर मौसम हिमालीले भिडियोलाई आकर्षक ढंगले प्रस्तुत गरेका छन्।
छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन मनोज कार्कीले गरेका छन्।
सार्वजनिक भएपछि गीत युट्युब र सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिन थालेको छ। लोकदोहोरी प्रेमीहरूले गीतको शब्द, संगीत, स्वर र भिडियो निर्माणको खुलेर प्रशंसा गरिरहेका छन्।









