छोरेपाटन माविमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

-


     हिड्न खबरदाता     
     असार १ गते २०८३ मा प्रकाशित


पोखरा, १ असार

पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरूलाई सोमबार एक कार्यक्रमबीच स्वागत तथा अभिमुखीकरण गरिएको छ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन तथा शिक्षक–अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर क्षेत्रीले छोरेपाटन मावि गण्डकी प्रदेशकै नमुना शैक्षिक संस्था रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासित भई अध्ययनमा समर्पित हुन आग्रह गरे।

विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा भुसालले विद्यार्थीहरूलाई नियमित पठनपाठनमा ध्यान दिन अनुरोध गर्दै विद्यालयले विद्यार्थीहरूको चौतर्फी विकासलाई प्राथमिकतामा राखेको बताए।

सहायक प्रधानाध्यापक खेमराज बरालले विद्यार्थीहरूलाई भविष्यप्रति सचेत भएर अध्ययन गर्न सुझाव दिँदै पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले विशेष महत्व दिँदै आएको जानकारी गराए।

अर्का सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले विद्यालयमा अध्ययनका लागि अनुकूल वातावरण रहेको उल्लेख गर्दै विद्यार्थीहरूले असल साथीको संगत गर्नुपर्नेमा जोड दिए।

सो अवसरमा शिक्षक इन्द्रप्रसाद दाहाल, पूर्वविद्यार्थी ई. सूचना रिजाललगायतले पनि आफ्ना धारणा राखेका थिए।

कार्यक्रमका बीच नवआगन्तुक विद्यार्थीहरूलाई कलम, विद्यालयको वार्षिक मुखपत्र ‘ज्योत्स्ना’ तथा क्यालेन्डर प्रदान गरी स्वागत गरिएको थियो।

विद्यालयमा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, शिक्षा तथा सामाजिक अध्ययन समूहअन्तर्गत पठनपाठन हुँदै आएको छ।

व्यवस्थापन, होटल व्यवस्थापन, शिक्षा तथा सामाजिक अध्ययन समूहमा भर्ना भएका विद्यार्थीहरूलाई सोमबार बिहान तथा विज्ञान समूहका विद्यार्थीहरूलाई दिउँसो कार्यक्रम आयोजना गरी स्वागत तथा अभिमुखीकरण गरिएको विद्यालयले जनाएको छ।

प्रधानाध्यापक डिल्लीराम शर्मा भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने शिक्षकहरू लीलानाथ आचार्य (विमल) र दीपक सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए।