
काठमाडौं । मुलुकमा बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरता, अवसरको अभाव र भविष्यप्रतिको अनिश्चितताका कारण हरेक दिन सयौँ नेपाली युवाहरू आफ्नो घर, परिवार र जन्मभूमि छोडेर विदेशिन बाध्य भइरहेका छन्।
कसैले ऋण तिर्न, कसैले परिवारको गुजारा चलाउन, कसैले आफ्ना सपना पूरा गर्न त कसैले सन्तानको उज्ज्वल भविष्यका लागि आफ्नो वर्तमान त्यागिरहेका छन्। यही यथार्थ, पीडा र संघर्षलाई केन्द्रमा राखेर गायक तथा पत्रकार बिक्रम सुनारको नयाँ गीत सार्वजनिक भएको छ।
बाध्यतावश देश छोड्नुपरेका लाखौँ नेपालीहरूको मनको आवाज बनेको यस गीतले एयरपोर्टमा परिवारसँग छुट्टिँदाको भावुक क्षणदेखि परदेशमा पसिना बगाउँदै परिवारको सपना पूरा गर्न संघर्षरत युवाहरूको जीवनकथा प्रस्तुत गरेको छ। गीतले परदेशको कथा मात्र नभई आफ्नै देशमा अवसर नपाउँदाको पीडा र सामाजिक यथार्थलाई समेत उजागर गरेको छ।
गीतमा चर्चित गायिका समीक्षा अधिकारी ले स्वरमा साथ दिएकी छन्। गीतका शब्द तथा लय सर्जक भुवन बिके हुन्।
गीतको भिडियो निर्देशन चर्चित मोडल गोविन्द विवश ले गरेका छन्। अडियो निर्माण प्रिज्म रेकर्डिङ स्टुडियोमा गरिएको हो।
त्यसैगरी भिडियोको छायाङ्कन सौगात थापाले गरेका छन् भने सम्पादन असिमचन्द्र विश्वकर्माले गरेका छन्। भिडियोमा गीतकार भुवन बिके र अनिता नेपाललाई मुख्य अभिनयमा देख्न सकिन्छ। गीतको प्रस्तुति तथा निर्माण (प्रोडक्सन) मनिषा सदाशङ्करले गरेकी हुन्।
गायक तथा पत्रकार बिक्रम सुनारको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।
बिक्रम सुनार संगीत क्षेत्रमा मात्र नभई पत्रकारिता क्षेत्रमा पनि परिचित नाम हुन्। उनले करिब डेढ दशकदेखि सक्रिय रूपमा पत्रकारिता गर्दै आएका छन्।
नेपालको विभिन्न चर्चित अनलाइन समाचार पोर्टल तथा टेलिभिजनमा कार्य अनुभव हासिल गरेका सुनार नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिका सचिवसमेत हुन्।
पछिल्लो समय उनी आफ्नो कर्मथलो जापानमा रहेर पत्रकारिता र सांगीतिक यात्रालाई निरन्तरता दिइरहेका छन्।
सुनारले यसअघि ‘लेकाली ठिटो’, ‘निगाली झाँपो’, ‘भने जस्तो होस्’ र ‘परदेशीको पीडा’ लगायतका थुप्रै गीत बजारमा ल्याइसकेका छन्।
नेपाली समाजका यथार्थ, लोकसंस्कृति, श्रम, संघर्ष र जनजीवनका कथालाई गीतमार्फत प्रस्तुत गर्दै आएका सुनारको यो नयाँ सिर्जनाले पनि विदेशिन बाध्य नेपाली युवाहरूको पीडालाई सशक्त रूपमा अभिव्यक्त गरेको छ।









