पत्रकार महासंघ बागलुङमा तालाबन्दी

-


     हिडन खबर    
     जेठ ३२ गते २०८० मा प्रकाशित


नेपाल पत्रकार महासंघ बागलुङ शाखामा नेपाल प्रेस युनियन बागलुङ तालाबन्दी गरेको छ । पत्रकार महासंघ बागलुङ शाखाका निर्वाचित अध्यक्ष नरेश कँडेललाई महासंघ केन्द्रीय समितिले कुनै समन्वय नगरी र जिल्लाको यथार्थ नबुझी पत्रकार महासंघको विधानविपरीत गरेको कार्यको विरोध गर्दै तालाबन्दी गरेको हो ।

युनियनले महासंघको कार्यालयमा एक विज्ञप्ति टाँस गरी तालाबन्दी गरेको छ। युनियनले पत्रकार महासंघ केन्द्रीय कार्यालयले विधानविपरीत गत जेठ २१ गते उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएकोप्रति ध्यानाकर्षण गराउँदै तालाबन्दी गरेको प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्तले बताउनु भयो ।

विधानमा जिल्ला शाखामा कार्यवाहक दिने जिम्मेवारी स्वयं शाखा अध्यक्षमा नै निहित हुन्छ । युनियन बागलुङले यो विषयमा महासंघको केन्द्र र प्रदेश समितिमा लिखित र मौखिक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताएको छ ।

नेपाल पत्रकार महासंघको विधानविपरीत दिएको कार्यवाहक जिम्मेवारी फिर्ता लिन, किर्ते निर्णय गरेर केन्द्रलाई पत्रचार गर्नेलाई कारबाही गर्न र पत्रकार महासंघलाई विधानअनुसार सञ्चालन गर्न युनियनले माग गरेको छ। यस्ता समस्याको समाधान र निकासका निम्ति ताला लगाउन बाध्य भएको अध्यक्ष पन्तले बताउनु भयो ।

महासंघले विधानविपरीतका कार्य तत्काल नसच्याएमा थप आन्दोलन गर्न बाध्य हुने युनियनले बताएको छ। विज्ञप्तिमा पत्रकार महासंघले निर्धारण गरेको कार्यविधिअनुसार सदस्यता शुद्धीकरण गरी महासंघलाई पेसागत रूपमा मर्यादित संस्थाको रूपमा विकास गर्न युनियन सदैव तयार रहेको बताइएको छ।

युनियन तयार हुँदा पनि पछिल्लो समयमा बागलुङ शाखामा उत्पन्न विवादहरूको निरुपण नगरी शुद्धीकरणको नाममा मनोमानी ढंगबाट गरिएको निर्णय युनियनलाई मान्य नहुने बताइएको छ। युनियनको उपस्थितिविना कुनै विवाद बल्झाउने निर्णय भए थप प्रतिरोध गर्ने जनाइएको छ। जिल्लामा अध्यक्ष हुँदाहुँदै केन्द्रीय कार्यसमितिले उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपश्चात् यो विवाद सिर्जना भएको हो ।