
शालिग्राम र कालीगण्डकी बचाउन बागलुङ नगरपालिका वडा नं ४ मा रहेको शालिग्राम संग्राहलय र रंगबेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको शालग्राम महोत्सव सम्पन्न भएको छ ।
महोत्सव समापनको अवसरमा शालग्राम संग्रहालय निर्माण गर्न आर्थिक, नैतिक र भौतिक योगदान गर्ने विशिष्ट व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।
पाँच दिनसम्म चलेको शालग्राम महोत्सवमा शालग्राम संग्रहालय र महिमा समेटिएको लोक भजन, कविता वाचन र रत्यौली लगायतका कार्यक्रम सम्पन्न गरिएको श्रीधराचार्य शालग्राम संग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले बताउनुभयो ।
शालग्राम महोत्सव समापन कार्यक्रममा बोल्दै प्राध्यापक डा लेखनाथ पौडेलले शालग्राम शिलाको महत्व विश्वभर रहेको बताउनुभयो । पौडेलले लोप हुँदै आएको शिलाको प्रचार प्रसार र संरक्षणमा शालग्राम संग्रहालयले ठूलो भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा स्वामी जगन्नाथ आचार्य, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, पूर्वअध्यक्ष तथा सम्मानित व्यक्तित्व सहदेव राजभण्डारी, वरिष्ठ अधिवक्ता पद्यनाथ शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वामी जगन्नाथ आचार्य, समाजसेवी सहदेव राजभण्डारी, वरिष्ठ अधिवक्ता पद्यनाथ शर्मा, पत्रकारहरु राजेशचन्द्र राजभण्डारी, मुकेशचन्द्र राजभण्डारी, सुवास आचार्य, प्रकाश बराल, कोपिला कंडेल, प्रकाश पौडेल र खेमराज गौतमलाई सम्मान गरिएको थियो ।
पछिल्लो समय लोप हुँदै गएको शालग्राम संरक्षण गरेर राखिएको संग्हालयको प्रचार प्रसार गर्दै धार्मिक पर्यटकहरुलाई आकर्षित गर्नका लागि महोत्सव आयोजना गरिएको थियो ।
बागलुङ नगरपालिका ४ मा रहेको रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समिति र शालिग्राम संग्रहालय व्यवस्थापन समितिद्धारा आयोजित शालिग्राम महोत्सवमा विभिन्न समुहले कालिगण्डकी, शालिग्राम सिला सहित विभिन्न विधाका भजनकृतन र लोकदोहोरी प्रस्तुत गरेका थिए । महोत्सवमा नियमित पूजा अर्चना तथा धार्मिक प्रवचन भएको थियो ।











