बागलुङको पैयुँपाटामा सामाजिक कुरीति विरुद्धको अभियान सम्वन्धी अन्तरक्रिया सम्पन्न

-


     हिडन खबर    
     चैत्र २५ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिका वडा नम्वर १३ पैयुँपाटामा सामाजिक कुरीति विरुद्धको अभियान सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङ र सामाजिक विकास कार्यालय बागलुङको संयुक्त आयोजना तथा वडा कार्यालको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका सहभागी सरोकारवालाले समाजमा बालविवाह, लैंगिक हिंसा, छुवाछुत, घरेलु मदिरा उत्पादन तथा सेवन, लागू औषध दुर्व्यशनी, बागलुङ बजारबाट वलेमा चल्ने सवारी साधानले महंगो भाडा लिने तथा क्षमता भन्दा बढी यात्रु बोकेको गुनासो गरेका थिए । कार्यक्रममा सामाजिक कुरीति विरुद्ध सहजीकरण गर्दै बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले परिवर्तनको शुरूवात व्यक्ति आफैंबाट गर्नुपर्ने बताउदै गलत मानसिकता त्यागेर कुसंस्कार अन्त्य गर्नुपर्ने बताउनुभयो । बरालले सभ्य, समुन्नत र समावेशी समाज निर्माण गर्नका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा त्रिभुव मावि व्यवस्थापन समितिका अध्यक्ष डाक्टर राम वहादुर केसी,नेपाली काँग्रेसका वडा सभापति चन्द्र बहादुर खत्री, माओवादी केन्द्रका रेशम वहादुर खत्री, प्रहरी निरिक्षक हरिवावु केसी, महिला संजाल पैयुँपाटाका उपाध्यक्ष हरिमाया रेग्मी लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम बागलुङ नगरपालिका वडा नम्वर १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता र सामाजिक विकास कार्यालय बागलुङका प्रमुख डम्वर जिसीको संचालनमा सम्पन्न भएको थियो ।