
विषयगत क्षेत्रको विकास र नगरमा रहेका श्रोत साधनको अधिकतम परिचालनको लागि बागलुङको जैमिनी नगरपालिकाले विज्ञ सम्मेलन सम्पन्न गरेको छ । जिल्लामै पहिलो पटक शिक्षा, स्वास्थ्य, पर्यटन अर्थ, कृषि लगाएतका क्षेत्रका विज्ञहरुको सम्मेलन सम्पन्न गरेको हो । विज्ञ सम्मेलनको सुझाव, चुनावको प्रतिबद्धता र जनचाहना अनुसार नीति तथा कार्यक्रम बनाउने नगरपालिकाले तयारी गरेको छ ।
दुई दिन सम्म चलेको विज्ञ सम्मेलनमा विभिन्न १० विषयका विज्ञहरुको सुझावको आधारमा १३ बुँदे घोषणापत्र गर्दै विज्ञ सम्मेलन सकिएको छ । दुई दिनसम्म विज्ञको प्रस्तुती, सुझाव, जनप्रनिधि र कर्मचारीको छलफलका आधारमा १३ बुँदे जैमिनी घोषणापत्र २०७९ जारी गरिएको जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले बताउनु भयो।
नगरपालिकाले तत्कालिन र दीर्घकालिन लक्ष्य नीर्धिारण गर्ने, विद्यालय समायोजन र आवासीय गराउने, पढ्दै कमाउदै अवधारण लागु गर्ने, शिक्षकहरुका लागि आवश्यक ऋण सुविधा उपलव्ध गराउने, उत्पादन र विक्रिका आधारमा मात्रै अनुदान दिने, कृषि जन्य पदार्थको ब्राडीङमा जोड दिने, टेलिमेडिसिन स्थापना गर्ने, स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने र बाँदर पीडित कृषकलाई राहत दिने र अन्य पालिकाले गरेको बाँदर नियन्त्रणको उपाय अबलम्मन गर्ने गरी घोषणापत्र जारी गरिएको छ ।
विज्ञ सम्मेलनमा कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा। गोविन्द आचार्यले कृषि क्षेत्र, गण्डकी प्रदेशको कृषि उर्जा तथा जलस्रोत मन्त्रालयका डा। गृष्म न्यौपानेले पशुविकास क्षेत्र, लोक सेवा आयोग केन्द्रिय कार्यालयका उपसचिव देवी प्रसाद सुवेदीले अर्थ तथा सार्वजनिक वित्त व्यवस्थापन क्षेत्र, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डाक्टर विमल चालिसेले स्वास्थ्य क्षेत्रका विषयमा सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै शिक्षाविद् प्राध्यापक डाक्टर विद्यानाथ कोईरालाले शिक्षा, पूर्वाधार विकास निर्देशनालय पोखराका सिनियर इञ्जिनियर रामबाबु पौडेलले पूर्वाधार विकास, छत्रदेव गाउँपालिका अर्घखाँचीका पूर्व अध्यक्ष लेखनाथ पोखरेलले बाँदर नियन्त्रण सम्बन्धी, कृषि अनुसन्धान निर्देशनालय लुम्लेका वरिष्ठ बाली वैज्ञानीक रमेश आचार्यले कृषि अनुसन्धानको क्षेत्र र नेपाल नगरपालिका संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष इन्जिनियर दीपकबाबु कँडेलले स्थानीय तह विकासका विषयमा सहजिकरण गर्नुभएको थियो । विज्ञ सम्मेलनको सुझाव, चुनावको प्रतिबद्धता र जनचाहना अनुसार नीति तथा कार्यक्रम बनाउने नगरपालिका नगर उपप्रमुख हरिहर शर्माले बताउनु भयो। नगर भित्रका चुनौतिको दिर्घकालिन समाधान सहित नमुना नगरपालिका बनाउने उदेश्यले विज्ञ सम्मेलन आयोजना गरेको शर्माले बताउनु भयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व विषयगत क्षेत्रका विज्ञहरुको सम्मेलन गरिएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताउनु भयो ।









