धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु विवाद अन्ततः सर्वसम्मत रुपमा समाधान

- सभापतिमा नेविसंघका सुदिप सागर कंडेल

-


     हिडन खबर    
     चैत्र १८ गते २०७९ मा प्रकाशित


धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियनको नयाँ कार्यसमिति अन्तत: सर्वसम्मत रुपमा घोषणा भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्ववियुको नयाँ कार्यसमिति नेपाल विद्यार्थी संघका युवा विद्यार्थी नेताको रुपमा परिचित सुदिप सागर कंडेलको नेतृत्वमा सर्वसम्मत रुपमा घोषणा भएको हो ।

धौलागिरीको एक मात्र आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको विषय अदालत सम्म पुगेको थियो भने पटक पटक क्याम्पसमा तालाबन्दी समेत भएको थियो ।

शनिवार भएको निर्वाचनमा चुनावी प्रतिस्पर्धाका लागि दर्ता भएका १० वटा विद्यार्थी संगठनबीच सहमतिपछि स्ववियू निर्वाचन सर्वसम्मत भएको छ। सबै पदमा एक/एक जनाभन्दा बढि उम्मेदवारी नपरेपछि सर्वसम्मत भएको निर्वाचन अधिकृत गोविन्द गौतमले बताए । १९ पदको लागि भएको निर्वाचनमा नेविसंघबाट १०,अनेरास्ववियूका चार,अनेरास्ववियू (छैठौ) बाट दुई,अनेरास्ववियू ‘क्रान्तिकारी’, ‘विप्लप’ र ‘बहुमत’बाट एक/एक जना सर्वसम्मत भएका छन ।

युनियनको उपसभापतिमा नेविसंघका दिपक सुवेदी, सचिवमा अनेरास्ववियूका अनिल शर्मा, सहायक सचिवमा अनेरास्ववियू ‘क्रान्तिकारी’ खिमानन्द कडेल र कोषाध्यक्षमा नेविसंघकी सृष्टी आचार्य सर्वसम्मत भएका छन । सदस्यमा नेविसंघका कृष्णबहादुर अठारे, सुनित गौतम, विशाल थापा, मनोज पौडेल, गणेश प्रसाद आचार्य, सचिन हरिजन, रुपादेवी राना अनेरास्ववियूका सुनिल पौडेल, अस्मिन शेख, तस्लिमा मिया,अनेरास्ववियू (छैठौ)का नगेन्द्र थापा र रेखा शर्मा, र अनेरास्ववियू ‘बहुमत’बाट दिवस खडका र अनेरास्वविय ‘विप्लप’का सुधन वि.क. निर्वाचित भएको निर्वाचन अधिकृत गौतमले बताए ।

त्रिभुवन विश्व विद्यालयले चैत्र ५ गतेका लागि तय गरेको निर्वाचन कार्यतालिका विद्यार्थी संगठनबीचको विवादको कारण स्थगित गरि १८ गते तोकिएको थियो ।