
एमसीसीको विरोधमा नेत्र बिक्रम चन्द बिप्लव, बैद्यसहितका पाँच पार्टीले भोलि नेपाल बन्दको घोषणा गरेका छन् ।
नेपाल सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी भोलि संसदमा टेबुल गर्ने निर्णय गरेको विरोधमा नेपालका पाँच वामपन्थी पार्टीहरुले भोलि फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका हुन ।
नेपाल सरकारले भोलि अमेरिकी सहयोग परियोजना एमसिसि संसदमा पेश गर्ने भनेपछि त्यसको विरोधमा नेपाल बन्दको घोषणा गरिएको हो ।
आज मसाल जुलुस, भोलि देशैभरि प्रदर्शन सहित नेपाल बन्द गर्ने कार्यक्रम घोषणा गरेकाे हो ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, आहूति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी पार्टी तथा देशभक्त गणतान्त्रिक मोर्चा सहितको संलग्नतामा नेपाल बन्द घोषणा गरिएको हो ।
देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले सरकार विदेशीको दलाल बनेर जनतामाथि साम्राज्यवादी शासन लाद्ने कार्यको प्रतिवाद गर्न भोलिको नेपालबन्द आह्वान गरिएको बताए ।
यातायात, उद्योग कलकारखाना, शेक्षिक संघ संस्था लगायत सबै बन्द गरिएने बताउँदै गजुरेलले आम जनतालाई सडक उत्रिएर राष्ट्रघाती एमसीसीको विरोध गर्न आह्वान गरेका छन् ।
अमेरिकी इण्डोप्यासिफिक रणनीति अन्तर्गत नेपालमा लागू गर्न खोजिएको एमसीसी कुनै पनि हालतमा लागू गर्न नदिईने बताउँदै सांसदहरुलाई जनताको पक्षमा उभिन र अमेरिकी दलाल नबन्न समेत मोर्चाले चेतावनी दिएको छ ।
एमसीसी भोलि संसदमा टेबुल गर्न प्रधानमन्त्री शेर बहादुर देउवाले बलजफ्ती गरेपछि पाँच वटा पार्टी तथा एउटा मोर्चाले देशव्यापी नेपाल बन्दको घोषणा गरेको हो ।
आज बसेको पाँच वटै पार्टी र मोर्चाको संयुक्त बैठकले नेपाल बन्दको निर्णय गरेको हो ।









