
बागलुङका आधिकांस सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्युन हुनु साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी सङ्ख्या घटिरहेको छ । तीव्रगतिमा विद्यार्थी संख्या घटिरहेको भएपनि सरोकारवालको ध्यान पुग्न सकिरहेको छैन ।
जिल्लाका हरेका सामुदायिक विद्यालयमा वर्षेनि विद्यार्थी घटिरहेका छन् र केही विद्यालयले चाहेर पनि रोक्न सकिरहेका छैनन् । अधिकांश अभिभावकको चाहना नै सामुदायिक विद्यालयमा सन्तानलाई पठाउने छैन । तर बागलुङ नगरपालिका ६ भान्सामा रहेको सदाशिव प्राथमिक विद्यालयले भने आधुनिक शिक्षामा जोड दिएपछि विद्यार्थी सङ्ख्या बढेको छ ।
कक्षा ५ सम्मको अध्ययन हुने विद्यालयमा वर्षेनि विद्यार्थी घट्दै गएर २६ जनामा सिमित भएपछि अभिभावकहरु, व्यवस्थापन समिति, शिक्षक र स्थानीय बासिन्दाको सहयोग र सहकार्यमा दुई वर्षमै विद्यार्थीको संख्या ६४ जना पुगेको छ । शैक्षिक सत्र २०७७ मा विद्यार्थी घटेर २६ जनामा सिमित भएपछि विद्यालयको सक्रियतामा २०७८ मा ४५ जना र २०७९ मा ६४ जना विद्यार्थी अध्ययरत छन् ।
बागलुङ नगरपालिका –६ भान्सास्थित यो विद्यालय ३२ वर्ष पुरानो हो । २०४८ मा एक देखि ३ कक्षासम्मको अनुमति पाएको विद्यालय २०५४ सालमा कक्षा १ देखि ५ सम्म प्राथमिक विद्यालय सञ्चालन अनुमति पाएको थियो । विद्यालयले हाल अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गर्नुका साथै आधुनिक शिक्षामा जोड दिंदै कक्षा सञ्चालन गरी अभिभावक र विद्यार्थीलाई आकर्षित गरिरहेको छ ।
शिक्षकहरुले बालमैत्री वातावरणमा अङ्ग्रेजी माध्यमबाट प्रभावकारी अध्यापन गराउने गरेकोले अभिभावकले पनि सकारात्मक सहयोग गरेका छन् । बोर्डिङप्रति अभिभावकको चाहनाकै कारण सरकारी विद्यालयमा लगातार विद्यार्थी घटेकोले समुदायको अग्रसरता आवश्यक रहेको सो विद्यालयका अभिभावक बताउन् ।
दरवन्दीका ३ शिक्षक, १ बाल सहजकर्ता र १ कार्यालय सहयोगी गरी ५ जना सरकारी सहयोगमा कार्यरत रहेकोमा विद्यार्थी सङ्ख्या कम हुँदै जाने र अभिभावकको माग अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनुपर्ने भएपछि विद्यालयले अग्रेजि माध्यममा पठनपाठन गराउन ४ जना निजी श्रोतबाट शिक्षक थप गरी कक्षा संचालन भइरहेको छ । विद्यालयले बालविकास, एलकेजि र युकेजि गरी तीन पूर्वप्राथमिक कक्षा समेत सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले बताउनु भयो ।
बालविकास, एलकेजि र युकेजिमा स्मार्ट टिभि र १– ५ कक्षामा कम्प्युटर ल्याव,लाईव्रेरिको व्यवस्था गरिएको छ । अहिले विद्यालयमा ९ जना शिक्षक कर्मचारी कार्यरत छन् । अभिभावकको माग अनुसार ४ शिक्षकलाई निजी स्रोतबाट तलब दिएर राखिउको छ । अहिले अभिभावकको चासो बढ्न थालेकोले पनि विद्यार्थी सङ्ख्या बढ्दै गएको हो ।
गत वर्षसम्म भौतिक संरचनाको अभाव झेल्दै आएको सो विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको २ कोठे भवनमा स्थानीय र व्यवस्थापन समितिको सक्रियतामा एक कोठा थप गरेपछि अब भवनको समस्या नरहेको विद्यालयले जनाएको छ। विद्यालयमा दरवन्दी अभाव रहेकोले हिउँसो आवासिय सुविधा दिन नसकिएको भन्दै आगामी शैक्षिक सत्रमा दिवा आवासिय कक्षा संचालन गर्ने योजना गरेको व्यवस्थापन समितिका अध्यक्ष सापकोटाले बताउनु भयो ।
विद्यालयको उन्नयनको लागि स्थानीयले आर्थिक सहयोग तथा एक दर्जन अक्षयकोष समेत स्थापना गरेका छन् । विद्यार्थी घट्नुको मुख्य कारण गुणस्तरमा कमि, सामुदायिक विद्यालयलाई हेर्ने नकरात्मक दृष्टिकोण, अभिभावकको बढ्दो अपेक्षा, निजी विद्यालयप्रतिको मोह आदि रहेको र लगातार विद्यार्थी संख्या घट्दै गएपछि विद्यालयले सुधारका प्रयास थालेको ३ वर्षमै सफलता मिलेको प्रधानाध्यापक लक्ष्मण सापकोटाको बताउनु भयो । अभिभावकमा अंग्रेजी माध्यमप्रतिको बढी चाहना रहेको अनुमान गरेर आफूहरूले अंग्रेजी माध्यमबाट पठनपाठन गराइएको प्रअ सापकोटाले बताउनु भयो ।











