
धवलागिरि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको विषयमा भएको विवाद चरम उत्कर्षमा पुगेको छ ।
फाल्गुन २५ गतेदेखि वामपन्थी विद्यार्थी संगठनले निर्वाचन अधिकृतको कार्यालयमा लगाएको ताला नेविसंघले फोडेपछि क्याम्पसको स्थिति तनावग्रस्त बनेको हो ।
क्याम्पस प्रशासनको लापरबाहीका कारण विद्यार्थी परिचयपत्र दुरुपयोग भएको, जारी गरिएका परिचयपत्रमा विवरण गलत भएको भन्दै फाल्गुन २५ गतेदेखि निर्वाचन अधिकृतको कार्यालयमा लगाइएको ताला आज बिहान नेपाल विद्यार्थी संघले फुटाएको थियो ।
आफ्ना जायज माग पुरागर्न दबाब दिनेगरी लगाइएको ताला प्रशासनले सहमतिको कदमै नचाली नेविसंघले आफूखुशी फुटाएपछि अनेरास्ववियु लगायत वामपन्थी विद्यार्थी संगठन नाराबाजीमा उत्रिएका छन ।
उता नेविसंघले भने यथाशीघ्र निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने भन्दै ताला फुटाएको नेविसंघका एक विद्यार्थी नेताले हिडनखबरलाई बताए ।
क्याम्पस परिसरमा दुवै पक्षका विद्यार्थी संगठनहरु छुट्टाछुट्टै नाराबाजीमा उत्रिएका छन ।
त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित निर्वाचन कार्यतालिका अनुसार चेत ५ गते मतदानको समय हो तर यो क्याम्पसमा भने फाल्गुन १९ गते संगठन दर्ता बाहेक कुनैपनि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
बामपंथी विद्यार्थी संगठनले सबै मतदाताको एकैप्रकारको परिचयपत्र बनाउनुपर्ने, फर्जी विद्यार्थीको परिचय पत्र खारेज गर्नुपर्ने, फर्जी भर्नालाई मतदाता सूचीबाट हटाउनु पर्ने लगायतका माग राखेर ५ दिन अगाडि निर्वाचन कार्यालयमा ताला लगाएकाे थियो भने नेपाल विद्यार्थी संघका सुजन सापकोटा संयोजक रहेको संयुक्त विद्यार्थी समूहले क्याम्पस प्रमुख डा राम प्रसाद उपाध्याय, निर्वाचन अधिकृत भक्तिराम न्यौपान, सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मी सहित ८ जना प्राध्यापक २ घण्टा थुनिएका थिए । सोमबार साँझ ६ बजे लगाइएको ताला राति ८ बजे खुलेको थियो ।
विद्यार्थी विद्यार्थी बिचमा छुट्टाछुट्टै माग र नाराबाजी हुँदा स्ववियु निर्वाचन नै अनिश्चित बनेको छ ।









