४८ घण्टा बितिसक्दा समेत धौलागिरी बहुमुखी क्याम्पसको ताला खुलेन

- विद्यार्थी परिचयपत्रको वितरणमा त्रुटि भएको भन्दै बामपंथी विद्यार्थी संगठनले स्ववियु निर्वाचनका लागि छुट्टै परिचयपत्र जारी गर्नुपर्ने भन्दै फाल्गुन २५ गते साँझ ५ बजे निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दीको ४८ घण्टा बितिसक्दा समेत ताला खुल्न सकेको छैन ।

-


     राम प्रसाद घिमिरे     
     फागुन २७ गते २०७९ मा प्रकाशित



बागलुङको धौलागिरी बहुमुखी क्याम्पसमा लगाइएको ताला ४८ घण्टा बितिसक्दा समेत खुल्न सकेको छैन ।

विद्यार्थी परिचयपत्रको वितरणमा त्रुटि भएको भन्दै बामपंथी विद्यार्थी संगठनले आसन्न चैत्र ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको प्रयोजनका लागि छुट्टै परिचयपत्र जारी गर्नुपर्ने भन्दै फाल्गुन २५ गते बिहीबार साँझ ५ बजे एक वक्तव्य जारी गर्दै निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका थिए ।

स्ववियु निर्वाचन घोषणापछि क्याम्पस प्रशासनले भर्ना गरेका नयाँ विद्यार्थीहरुको विषयमा छानविन गर्न पनि माग गरेका छन् । क्याम्पसका कतिपय प्राध्यापक र कर्मचारीहरुले निर्वाचनलाई प्रभाव पार्ने गरी अवांछित गतिविधिहरुमा संग्लन्न भएको वक्तव्यमा उल्लेख छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निष्पक्ष र शान्तिपुर्ण ढंगले सम्पन्न गर्नको लागि क्याम्पस प्रशासनले फर्जि परिचयपत्रको छानविन गरी असंम्बन्धित विद्यार्थीहरुलाई मतदात सुचिबाट हटाउनु पर्ने र क्याम्पस प्रशासनले निर्वाचन प्रयोजन लागि सहायक क्याम्पस प्रमुखको एकल हस्ताक्षर भएको अस्थायी परिचयपत्र जारी गर्नु पर्ने वक्तव्यमा उल्लेख गरिएछ ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीको परिचयपत्र जारी गर्दा नै क्याम्पस प्रशासनले लापरबाही गरेकोले स्ववियु निर्वाचन प्रयोजनका लागि एकजना सहायक क्याम्पस प्रमुखको मात्र हस्ताक्षर हुनेगरी एकद्वार प्रणालीबाट छुट्टै परिचयपत्र जारी गर्नुपर्ने नेकपा एमालेका विद्यार्थी संगठन इन्चार्ज शेखर खड्काले बताउनुभयो ।

“हामीले क्याम्पस प्रशासन सँग अस्वभाविक माग राखेका होइनौं, मात्र क्याम्पसको गल्ती सच्याउनुपर्ने र स्ववियुको निर्वाचन स्वतन्त्र ढंगबाट हुने वातावरणको ग्यारेन्टी गर्न भनिरहेका हौँ, खड्काले भन्नुभयो “यो माग क्याम्पस सँग पहिलेनै राखेका हौँ तर क्याम्पस प्रशासनले कुनै चासो नदेखाएपछि तालाबन्दी गर्नुपर्ने बाध्यता भएको हो”

विद्यार्थीहरुबाट नेता उत्पादन गर्ने सबैभन्दा महत्त्वपूर्ण आधार मानिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्वतन्त्र ढंगबाट हुनुपर्नेमा क्याम्पस प्रशासनको लापरबाहीले प्रभावित हुने देखिएकाले तालाबन्दी गर्न बाध्य भएको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन शर्माले बताउनुभयो ।

स्ववियु निर्वाचनका लागि छुट्टै परिचयपत्र जारि गर्ने माग सहित अनेरास्ववियुका धवलागिरि बुहुमुखी क्याम्पसका इकाइ अध्यक्ष अनिल शर्मा, अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष खिमानन्द कँडेल विकास, अखिल क्रान्तिकारी बहुमतका इकाइ अध्यक्ष दिवश खड्का, अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष सुदन विक विप्लव र अखिल संयुक्त प्यानलका प्रविण सापकोटा द्वारा हस्ताक्षरित विज्ञप्ति समेत जारी गरेका छन ।

उता क्याम्पस प्रशासनले भने विद्यार्थी संगठनको मागलाई सम्बोधन गरि ताला खोल्ने सहमतिको प्रयास भइरहेको क्याम्पस प्रमुख डा. राम प्रसाद उपाध्यायले बताउनुभयो ।

फाल्गुन १९ गते संगठन दर्ता गरे सँगै सुरुभएको निर्वाचन प्रक्रिया फाल्गुन २७ गते मनोनयन गर्ने भनिएको भएपनि निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी हुँदा सुचना टाँस गरेर मनोनयनको समय थपिएको छ ।

धौलागिरी क्षेत्रका ४ जिल्लाको शैक्षिक धरोहर मानिएको त्रिभुवन विश्व विद्यालयको एकमात्र आंगीक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि कुल १ हजार ७ सय ४८ विद्यार्थी मतदाता रहेको क्याम्पस प्रशासनले जनाएको छ ।