
आगामी चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदैछ ।
राजनीतिको जग मानिने स्वतन्त्र विद्यार्थी युनियनको चुनावले त्रिभुवन विश्व विद्यालय अन्तर्गतका देशभरका क्याम्पसहरु चुनावमय बनेका छन् ।
धौलागिरी अञ्चल कै शैक्षिक धरोहरको रुपमा स्थापित धौलागिरी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा आफ्नो नेतृत्व हात पार्नकालागि अधिकांश संगठन दौडधुपमा लागेका छन ।
फाल्गुन १९ गते संगठन दर्तामा १० वटा संगठन दर्ता भएको धौलागिरी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एक दर्जन आकांक्षी देखिएका छन् ।
एकै संगठनबाट ४ जना आकांक्षी:
धौलागिरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट ४ जनाको दाबेदारी देखिएको छ । नेपाल विद्यार्थी संघका विद्यार्थी नेता सुदिप सागर कंडेल, सोही संगठनबाट विद्यार्थी नेता दिपक सुवेदी, स्ववियु सदस्य समेत रहेेेका मनोज सापकोटा र विद्यार्थी नेता श्रृष्टी आचार्यको दाबेदारि रहेको नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष विषेश पराजुलीले हिडन खबरलाइ बताउनुभयो । आकांक्षी ४ जनाको रहेपनि पार्टीले सहमति गरेर १ जनाको नाम टुङ्गो लागाउने तयारी भइरहेको पराजुलीको भनाइ रहेको छ ।
त्यस्तै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट स्ववियु सभापतिमा २ जनाको दाबेदारि रहेको जनाइएको छ । अनेरास्ववियुका केन्द्रीय सदस्य रोशन कुँवर र अनेरास्ववियु धौलागिरी बहुमुखी क्याम्पस इकाई अध्यक्ष अनिल शर्माको सभापतिमा आकांक्षा रहेको अनेरास्ववियुका नेता शेखर खड्काले बताउनुभयो । स्ववियुको नेतृत्वका लागि २ जनाको दाबेदारि रहेको भएपनि पार्टीले सहमति गरि १ जनाको नाम टुंङ्गो लगाउने खड्काको भनाइ रहेको छ ।
त्यस्तैगरि नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीबाट क्याम्पस इकाई अध्यक्ष खिमानन्द कंडेल’दिवस’ को एकल दाबेदारि रहेको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन शर्माले बताउनुभयो ।
चैत्र ५ मा हुने स्ववियु निर्वाचनकालागि नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुको तर्फबाट क्याम्पस इकाई अध्यक्ष तस्लिमा मियाको दाबेदारी रहेको बताइएको छ । स्ववियुको नेतृत्वमा महिलाको उपस्थिति सुनिश्चित गर्न आफ्नो उम्मेदवारी रहेको मियाले हिडन खबर सँगको कुराकानीमा बताउनुभयो ।
त्यस्तै राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु(छैठौं) बाट विद्यार्थी नेता नगेन्द्र थापाको दाबेदारि रहेको जनमोर्चाका एक जिल्ला नेताले बताए ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीबाट स्ववियु सभापतिमा अनेरास्ववियुका जिल्ला सदस्य सुदन विकको दाबेदारि रहेको एक नेताले बताए ।
त्यस्तैगरि नेकपा माओवादी बहुमत निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीबाट स्ववियु सभापतिमा क्याम्पस इकाई अध्यक्ष समेत रहेका दिवस खड्काको दाबेदारि रहेको पार्टीका एक नेताले हिडन खबरलाइ बताएका छन ।
राजनीतिक दलको नेतृत्व विकासको जगसमेत मानिने स्ववियू चुनाव बागलुङको धौलागिरी बहुमुखी क्याम्पस ७ वर्षपछि चैत ५ गते हुँदैछ । फाल्गुन १९ गते शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको साविक धौलागिरी अञ्चलकै एकमात्र आंगीक क्याम्पसको रुपमा रहेको धौलागिरी क्याम्पसको स्ववियुको नेतृत्व आफ्नो पक्षमा पार्न विद्यार्थी संगठन सक्रिय भएका छन् ।
फर्जी परिचय वितरण गरेको भन्दै क्याम्पसमा तालाबन्दी:
विद्यार्थीको फर्जि परिचयपत्र भेटिएको भन्दै बागलुङको धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको चुनावको पुर्व सन्ध्यामा निर्वाचन प्रभावित पार्ने नियतले वास्तविक विद्यार्थीको विवरण नै ख्याल नगरि आफुखुसी फर्जी परिचयपत्र वितरण गरेको भन्दै बामपंथी निकट विद्यार्थी संगठनहरुद्वारा निर्वाचन अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।
तालाबन्दी खोल्नका लागि सहमतिको प्रयास भइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।
त्रिभुवन बिश्वबिद्धालयले यसै वर्षको चुनाव देखि २८ वर्षको उमेर हद लागू गरेसँगै नयाँ नेतृत्व आउने देखिएको छ ।









