गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

- राष्ट्रपति पौडेल ६ पटक सांसद, ५ पटक मन्त्री र एकपटक प्रतिनिधिसभाको सभामुख बनिसकेका छन भने २०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसदमा १७ पटकसम्मको चुनावीमा पराजित भएका थिय ।

-


     हिडन खबर    
     फागुन २५ गते २०७९ मा प्रकाशित


नयाँ राष्ट्रपतिको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्। बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसदहरुले मतदान गरेका हुन ।

पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।अर्का उम्मेदवार एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । नेम्वाङले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।

संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा भाग लिएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर भएकाले मतदानमा सहभागी भएनन् ।

राष्ट्रपति निर्वाचनको लागि चुनावमा ८३२ मत खसेको निर्वाचन आयोगले जनाएको छ।संघीय संसदका ३३४ जनामध्ये ३१३ जनाले मतदान गरेका थिए भने प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका थिए ।

को हुन पौडेल:
२००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मेका पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुख बनेका छन् । कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेका पौडेल अब संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुगेका छन् ।

पौडेल ६ पटक सांसद, ५ पटक मन्त्री र एकपटक प्रतिनिधिसभाको सभामुख बने । २०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसदमा १७ पटकसम्म चुनावी प्रतिस्पर्धामा भाग लिएपनि जित हासिल गर्न नसकेका पौडेल नौ दलीय सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएपछि पहिलो प्रयासमै राष्ट्रपति बन्न सफल भए ।

नवनिर्वाचित राष्ट्रपति पौडेल २०१६ सालमा हिमालयन छात्र संघको सदस्य बनेका थिए । २०१७ सालमा राजाले संसद् भङ्ग गरी वीपीलाई जेल हालेको विरोधमा उनी प्रजातान्त्रिक आन्दोलनमा सहभागी भए । र त्यसपछि सक्रिय राजनीतिमा अघि बढे ।

२०२७ सालमा नेविसंघको संस्थापक सदस्य बनेका पौडेल २०३४ सालबाट आफ्नै जिल्ला तनहुँबाट जिल्ला सदस्य भएर मूल पार्टी नेपाली कांग्रेसमा सक्रिय भए ।

२०४३ सालमा केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हुँदै निरन्तर केन्द्रीय सदस्य रहेका पौडेल २०६२ सालमा केन्द्रीय महामन्त्री, २०६४ सालमा केन्द्रीय उपसभापति, २०७२ सालमा कार्यवहाक सभापति बने ।

२०४८ सालपछि भएका ७ वटा संसदीय चुनावमध्ये २०७४ सालको बाहेक अन्य सबै निर्वाचतमा उनले तनहुँबाट जित हात पारेका थिए । २०५१ सालमा प्रतिनिधि सभाको सभामुख बनेका पौडेल २०६५ मा कांग्रेस संसदीय दलको नेता बने र विपक्षी दलको नेताको भूमिका निर्वाह गरे ।

२०४८ सालमा पहिलोपटक स्थानीय विकास मन्त्री बनेका पौडेल, २०४९ सालमा कृषिमन्त्री, २०५६ सालमा उपप्रधानमन्त्रीसहित सूचना/सञ्चारमन्त्री, स्थानीय विकास र गृहमन्त्री बने । २०६३ माओवादी शान्तिप्रक्रियामा आएपछि उनी शान्ति तथा पुनःनिर्माण मन्त्री बने ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार र १५ वर्ष जेल जीवन बिताएका पौडेल २०७९ फागुन २५ गते बिहीबार भएको चुनावबाट गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भए । अब उनको काँधमा संविधानको संरक्षक भएर राष्ट्रको अभिभावकत्व गर्ने जिम्मेवारी आइपुगेको छ ।