
चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिँनै लाग्दा बागलुङ नगरपालिकाका करिव ९० प्रतिशत विकास योजनाको सम्झौता सकिएको छ ।
आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाबाट कुल ५ सय ७६ योजना छनौट भएकोमा फाल्गुन पहिलो हप्ता सम्म आइपुग्दा ५ सय १८ वटा योजनाको सम्झौता सकिएको बागलुङ नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले यो आर्थिक वर्षमा कुल ६८ करोड ३ लाख ९ हजार ३ सय ११ पुँजीगत बजेट मध्ये ६१ करोड २८ लाख बढिका योजनाको सम्झौता सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो ।
कुल योजना मध्ये १ सय ६५ वटा योजना फरफारक भइ भुक्तानी समेत सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले विकासमा तिब्रता दिने उद्देश्यले घुम्ती शिविर मार्फत योजनाहरुको सम्झौता लगायत पञ्जीकरणका सेवाहरु टोलटोलमै पुर्याएर सेवा दिएको कारण योजनाको सम्झौतामा यो सफलता प्राप्त गर्न सकिएको बागलुङ नगरपालिकाका उप प्रमुख राजु खड्काले बताउनुभयो । ‘हामीले नगरको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ, नागरिकहरुको दैनिकमा कसरी सहजता ल्याउन सकिन्छ भन्नेमा नगरपालिकाको सम्पुर्ण टिमको ध्यान केन्द्रित छ’ उप प्रमुख खड्काले भन्नुभयो ‘ सम्पन्न भएका योजनाको गुणस्तरीयता एवं दिगोपन र सञ्चालनमा रहेका योजनाहरुलाई निर्धारित समयमा गुणस्तरीय रुपमा सम्पन्न गर्नुपर्नेमा प्रभावकारी अनुगमको संयन्त्रलाई सक्रिय बनाइएको छ ।
साबिक धौलागिरी अञ्चलको सदरमुकाम समेत रहेको बागलुङ बजार सहित १४ वडाहरु रहेको नगरपालिकाका अधिकांश वडाहरु सडक सञ्जालले जोडिसकेका छन । तर वर्षाको समयमा पनि निरन्तर सञ्चालनका लागि सबै सडकहरूको स्तरोन्नति गर्ने योजना रहेको बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो । “बागलुङ नगरपालिका जिल्ला कै पुरानो नगरपालिका भएका हिसाबले यसको विकासमा चौतर्फी चासो र चिन्ता छ त्यसकारण नगरको विकासमा कुनैपनी कसुर बाँकी नराख्ने गरि अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढका छौँ” प्रमुख श्रेष्ठले भन्नुभयो “हामीले यो कार्यकालमा बागलुङ नगरको समग्र विकासकालागि प्रदेश र संघ अन्तर्गतका योजना समेत माग गरिसकिएको छ ।
देश संघीयताले केन्द्रको अधिकार गाउँगाउँमा पुगेसँगै नागरिकहरुका आशा र अपेक्षामा समेत वृद्धि हुने गरेका छन । आफ्नै स्थानका जनप्रतिनिधि सत्तामा आएसँगै विकासमा सकारात्मक परिवर्तन देखिएपनि जनअपेक्षा अनुसारका योजनाको दिगोपनमा विशेष जोड दिनुपर्ने देखिन्छ ।









