बागलुङमा फाल्गुन ११ देखि १४ औं पटक हात्तीपाइले विरुद्धको औषधि खुवाउने

- १३ औं पटकसम्मको अभियानले रोग निवारण नभएको ठहर गर्दै 'यसै पटक अन्तिम पटक' भन्ने नाराका साथ १४ औं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउन लागिएको हो ।

-


     हिडन खबर    
     फागुन ५ गते २०७९ मा प्रकाशित


बागलुङ जिल्ला फाल्गुन ११ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि सेवनको अभियान संचालन गरिने भएको छ। १३ औं पटकसम्मको अभियानले रोग निवारण नभएको ठहर गर्दै ‘यसै पटक अन्तिम पटक’ भन्ने नाराका साथ १४ औं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताउनुभयो । । दुई वर्षमाथिका सबैलाई लक्षित गरी अभियान संचालन गरिने प्रमुख शर्माले बताउनुभयो ।

२ वर्षमुनिका बालवालिका, गर्भवती र ७ दिन सम्मका सुत्केरी, सिकिस्त बिरामीले औषधि सेवन गर्न हुँदैन । बागलुङमा हात्तीपाइले निवारणका लागि विगत १३ वर्षदेखि अभियान संचालन हुँदै आएको छ । १३ औं पटक पूरा गर्दासम्म पनि जिल्लामा यस रोगबाट संक्रमित भएका मानिस फेला परेपछि अन्तिम पटक फागुन ११ गतेबाट औषधी खुवाउने तयारी गरिएको जनाइएको छ ।

१३ औँ चरण पूरा गरे पनि हात्तीपाइलेको जीवाणु अझै फेला पारेपछि यस वर्ष फेरी अभियान संचालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयले आयोजित हात्तीपाइले रोग विरुद्धको अभियान सम्बन्धी पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । जिल्लामा हात्तीपाइले रोगबाट बच्नका लागि ‘डाइथाइल कार्बामाजिन’ (डीईसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक दुई औषधि खुवाउने कार्यक्रम रहेको छ ।

रगत र पेटमा भएको परिजीवि जुकालाई मार्नका लागि ती औषधि खुवाइने गरिन्छ । चिकित्सकका अनुसार डीईसीले रगतमा रहेको परजीवि जुकालाई र ‘अल्वेन्डाजोल’ले पेटमा रहेको जुकालाई मार्ने गर्दछन् । सामान्यतया छैठौं पटकसम्म नियमित औषधी खुवाएपछि हात्तीपाइले रोगको संक्रमण दर घट्नु पर्नेमा नघटेका कारण अभियानलाई निरन्तरता दिनुपरेको छ ।

छैठौं पटकमा निवारण हुनुपर्ने हात्तीपाइले रोग औषधी सेवन नगरेको कारण १४ औं पटकसम्म पनि औषधी खुवाईरहनु पर्ने अवस्था आएकोले यसपटक पनि अभियान चलाउनु परेको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताउनुभयो ।

बागलुङमा सन् २००३ देखि नियमित औषधी खुवाउने अभियान संचालन गर्दा पनि प्रभावकारी नहुँदा र व्यक्तिले औषधी नखाईदिएर यसको संक्रमण दर नघटेको हो । हात्तीपाइले रोगको निवारण भएको घोषणा गर्न रोगीको संख्या एक प्रतिशत भन्दा कम हुनु पर्छ ।

हात्तीपाइले रोग सङ्क्रमति पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । यस रोग लागेपछि मानिसलाई शारीरिक रुपमा अशक्त, असमर्थ र अपाङ्ग बनाउने गर्दछ । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले मानिसको शरीरमा प्रवेश गरेपछि हुने गर्दछ । परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यो रोगको लक्षण देखिने गर्दछ ।

हात्तीपाइले रोग शुरूको अवस्थामा शरीरको मांसपेसी नरम वा थिच्दा थिचिने खालको सुन्निने गर्दछ भने पछिल्लो अवस्थामा छाला बाक्लो हुँदै नथिचिने खालको हुँदै जाने, ठुलो खालको सुन्निने, छालामा पत्र हुँदै जाने वा गाँठागुँठी पलाउन थाल्ने र सुन्निएको अङ्गमा मुसा पलाउने र घाउ हुँदै जाने गर्दछन् ।

संक्रमण हुन सक्ने जोखिम सबैमा भएकाले सम्पूर्ण जिल्लाबासीले यस पटकको पनि औषधी खान आवश्यक छ । बागलुङका केही नागरिकमा रोगको संक्रमण देखिएको छ । यसलाई शुन्यमा ल्याउनका लागि हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान जिल्लाका दशै वटा स्थानीय तहले औषधी खुवाउने तयारी गरेको छ ।

जिल्लामा सबैले औषधी सेवन गरी यो रोग नियन्त्रणमा सहयोग गर्नको लागि स्वास्थ्य कार्यालय बागलुङले अनुरोध गरेको छ । कार्यक्रमको अवसरमा बागलुङमा क्रियाशिल पत्रकारहरुले औषधी खाएर अभियान सुभारम्भ गरेका थिए ।