बागलुङ नगरपालिका भित्र देखापरेको हात्तीपाइले रोग एकदशक बितिसक्दा समेत निवारण हुन नसक्दा १४ औं पटक औषधी खुवाएर निवारण गर्ने तयारी भइरहेको छ । बढीमा ६ पटक हात्तीपाइले रोगको औंषधी खाए पुग्ने स्वास्थ्य सम्बन्धि मापदण्ड भएपनि बागलुङ जिल्लामा अन्तिम पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने तयारी भइरहेको छ ।
‘हात्तिपाइले रोगको औषधी खाऔं यो वर्षलाई अब अन्तिम बनाऔं’ भन्ने नाराका साथ बागलुङमा १४ औं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने भएको छ । बागलुङ नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको नगरपालिका स्तरीय योजना तथा बहुनिकाय गोष्ठी आयोजना गरि हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउनका लागि १४ वटै वडाका जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीलेनै औषधि खुवाउने योजना बनाएको हो ।
३ सय जनामा गरिएको नमुना सर्वेमा १ जनामा हात्तिपाइले रोगको परजीवि देखिएपछि नगर स्वास्थ्य शाखाले यस रोगलाई निर्मुल गर्न १४ औं पटक अभियान संचालन गर्न लागेको हो ।
नगरपालिकाको हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य पुरा हुन नसकेपछि औषधी खुवाउने अभियानलाई निरन्तरता दिनुपरेको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले बताए ।
हात्तीपाइले रोगको औंषधि खुलाउन समुदायस्तरमा र गाउँ गाउँका सामुदायिक बिद्यालयमा पुगेर सबैलाई सुचना दिएर खुवाउने योजना बनाएको बागलुङ नगरपालिका स्वास्थ शाखाले जनाएको छ
अहिलेसम्म भएको कमजोरी लाई आत्मसात गरेर सबै जनप्रतिनिधि समुदाय सबै लागेर अर्को पटक देखि हात्तीपाइले रोगको औंषधी खुवाउने कार्यक्रम बनाएको बागलुङ नगरपालिकाले जनाएको छ
गतबर्ष गरिएको औषधी खुवाउने प्रयास प्रभावकारी नभएको हुनाले यसबर्ष सबैलाई हात्तीपाइले रोग बिरूद्वको औषधी खुवाउने अभियान रहेको बागलुङ नगरपालिकाका प्रशासकीय अधिकृत पुरूषोत्तम सापकोटाले बताए ।
१३ औं पटक पूरा गर्दासम्म पनि जिल्लामा यस रोगबाट संक्रमित भएका मानिस फेला परेपछि १४ औं पटक अर्थात अन्तिम पटक फागुन ११ गतेबाट औषधी खुवाउने तयारी गरिएको जनाइएको छ । जिल्लामा हात्तीपाइले रोगबाट बच्नका लागि ‘डाइथाइल कार्बामाजिन’ ९डीईसी० र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक दुई औषधि खुवाउने कार्यक्रम रहेको छ ।
रगत र पेटमा भएको परिजीवि जुकालाई मार्नका लागि ती औषधि खुवाइने गरिन्छ । चिकित्सकका अनुसार डीईसीले रगतमा रहेको परजीवि जुकालाई र ‘अल्वेन्डाजोल’ले पेटमा रहेको जुकालाई मार्ने गर्दछ । गत वर्ष बागलुङ नगरपालिका वडा नम्वर १४ नारायणस्थानमा गरिएको नमुना रगत परीक्षणमा हात्तिपाइले रोगको संक्रमण बढि भेटिएको हो ।
सामान्यतया छैठौं पटकसम्म नियमित औषधी खुवाएपछि हात्तीपाइले रोगको संक्रमण दर घट्नु पर्नेमा नघटेका कारण अभियानलाई निरन्तरता दिनुपरेको छ । लामखुट्टेको टोकाईबाट सर्ने माइक्रो फाइलेरिया १ प्रतिशत भन्दा कममा झार्ने लक्ष्य थियो तर नमुना सर्वेमा यो दर ०।०५ प्रतिशत रहेपछि अभियान असफल भएको हो ।
बागलुङमा सन् २००३ देखि नियमित औषधी खुवाउने अभियान संचालन गर्दा पनि प्रभावकारी नहुँदा र व्यक्तिले औषधी नखाईदिएर यसको संक्रमण दर नघटेको हो । हात्तीपाइले रोगको निवारण भएको घोषणा गर्न रोगीको संख्या एक प्रतिशत भन्दा कम हुनु पर्छ । यो प्रतिशत पुरा नभएकाले अन्तिम पटक यसको औषधी खुवाउन लागेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
हात्तीपाइले रोग सङ्क्रमति पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । यसरोग लागेपछि मानिसलाई शारीरिक रुपमा अशक्त, असमर्थ र अपाङ्ग बनाउने गर्दछ । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले मानिसको शरीरमा प्रवेश गरेपछि हुने गर्दछ । परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यो रोगको लक्षण देखिने गर्दछ ।
यसलाई शुन्यमा ल्याउनका लागि हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान जिल्लाका दशै वटा स्थानीय तहले औषधी खुवाउने तयारी गरेको छ ।









