
बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका पुरुषलाई थप उपचारको लागि पोखरा लगिएको छ । पेट्रोल छर्केर घाइते अवस्थामा रहेका बागलुङ नगरपालिका ८ सिगाना,ओख्रेनीका ५२ वर्षीय शेर बहादुर जिसीलाई धौलागिरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि पोखराको गण्डकी मेडिकल कलेजमा रेफर गरिएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत तेज प्रसाद न्युरेले बताउनु भयो ।
आज विहान करिव ११ः३० बजेको समयमा घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी गंगा बहादुर थापाले बताउनु भयो । पेट्रोल छर्केर घाइते अवस्थामा रहेका जिसीको धौलागिरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि पोखरा पठाइएको हो ।
केही दिनअघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको घटनाले देशै भरि आत्मदाहाका घटना वढ्न थालेका छन् । आचार्यको मृत्युको घटना सेलाउन नपाउँदै पोखरामा आइतबार शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउन खोज्ने महिलाको मृत्यु भएको थियो । जलिरहेका ४३ वर्षीय कृष्ण क्षेत्रीलाई बचाउने प्रयास गरेकी क्षेत्रीकी घरधनीसमेत रहेकी संगीता सापकोटाको उपचारको क्रममा मृत्यु भएको थियो । घाइते क्षेत्रीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । डेरामा बस्दै आएका उनले बाथरुममा छिरेर पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।









