बागलुङ नगरपालिका मेयर श्रेष्ठ नगरपालिका संघको केन्द्रीय सदस्यमा निर्वाचित

-


     हिडन खबर    
     पौष ६ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ नेपाल नगरपालिका संघको केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएकोे छ । संघको काठमाण्डौमा सम्पन्न आठौं महाविशेनबाट श्रेष्ठ केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित हुनु भएको हो । श्रेष्ठ धौलागिरी क्षेत्रबाटै एक मात्र केन्द्रीय सदस्य निर्वाचित हुनु भएको छ।
महाधिवेशनबाट धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाको अध्यक्षतामा ४३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित ढुंगाना संघको आठौं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चुनिनु भएको हो ।

यस्तै उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा चयन हुनु भएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनु भएको थियो । महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् । यस्तै उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन हुनु भएको छ ।

कोषाध्यक्षमा नेपाली कांग्रेसबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई र सहकोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख एकीकृत समाजवादीकी मीना लामा चयन हुनु भएको छ ।

स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्या अनुसार संघको भागवण्डा भएको हो । देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।