बागलुङ बजारका सडकमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरु हटाउन सुरु

-


     हिडन खबर    
     मंसिर २० गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिकाले बजारका सडकमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरु हटाउन सुरु गरेको छ। बढ्दो सवारी साधनको चापले बजार क्षेत्र साँघुरो तथा अव्यवस्थित र कुरुप भएको स्थानीयको गुनासो आएपछि नगरपालिकाले हटाउन सुरु गरेको हो ।

नगरले पटक–पटक सडक मिचेर राखिएका निर्माण सामग्री हटाउन भने पनि नहटाइएपछि नगर उपप्रमुख राजु खड्काको नेतृत्वमा नगरपालिकाको टोलीले अव्यवस्थित सामग्रीहरु हटाउन सुरु गरेको छ । सडकपेटीमा राखिएका निर्माण र व्यापारीक सामग्रीका कारण पैदलयात्रु तथा सवारी आवत जावतमा समस्या हुने गरेको छ ।

नगरपालिकाले सूचना जारी गरी सडक मापदण्ड भित्र राखिएका निर्माण सामग्री र अवैध संरचना तथा होडिङवोर्ड हटाउन आग्रह गर्दै आएको थियो । अझै पनि केही ठाउँहरुमा ती सामग्री नहटाएपछि उपभोक्ता हित संरक्षण समितिका संयोजक समेत रहनुभएका नगर उपप्रमुखसहितको टोली सामग्री हटाउन बजारमा निस्किएको हो । सडक मिचेर लामो समयसम्म राखिएका निर्माण सामग्रीले सडक कुरुप बन्नुको साथै जोखिम भएकाले निर्माण सामग्री जफत गरिएको छ ।

सडक मिचेर राखिएका ढुङ्गा, गिट्टी, बालुवा, ईट्टा र माटो उठाइएको छ । नगरपालिकाले घर तथा भवन निर्माण सुरु भएका स्थानमा अनुमति लिएर मात्र निश्चित समयको लागि सामान राख्ने व्यवस्था गरेको छ । निर्माणका क्रममा सामग्री सडक छेउमा राख्नै नपाईने भनेको होईन । तर वैकल्पिक उपाय अपनाउन र नभए सडकमा सवारी आगमनमा अवरोध नहुने गरी अनुमति लिएर निश्चित समय व्यवस्थित रुपमा राख्न भनेको नगर उपप्रमुख राजु खड्काले बताउनु भयो ।

सूचना जारी गरे पनि सडकको स्वरुप नै बिग्रिने गरी राखिएका सामान हटाएको खड्काले बताउनु भयो । बजार क्षेत्रमा हुन सक्ने दुर्घटना न्यूनिकरण र सडकलाई थप व्यवस्थित बनाउनका लागि अभियान थालिएको नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्त प्रसाद सुवेदीले बताउनु भयो । नगरपालिकाले बजारका साघुरा सडक, गल्ली ओगटेर सामान राख्नाले बजारमा पैदल हिड्नुपर्ने अवस्थामा दुर्घटनाको जोखिम समेत भएकाले तत्काल सामग्री आफ्नो सटर भित्र मात्र राख्न निर्देशन दिएको छ ।

नगरपालिकाको आग्रहलाई वेवास्ता गर्नेहरुको सामान आगमी दिनमा जपत गरिने नगरपालिकाले जनाएको छ । बजार व्यवस्थापन र सुन्दरतालाई कायम राख्न मापदण्ड अनुरुप सामान राखेर व्यवसाय गर्न सबैलाई आग्रह गर्नुभएको छ । अव्यवस्थित पार्किङले बजार क्षेत्रका सडक साँघुरो हुने र सडक दुर्घटना समेत हुन सक्ने भएकाले पार्किङलाई व्यवस्थित गर्न खोजिएको छ ।