४२ लाखको लागतमा बागलुङ नगरपालिका ४ पाखाथरमा लिफ्टिङ खानेपानी आयोजना

-


     हिडन खबर    
     मंसिर २० गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिका ४ पाखाथरमा करिव ४२ लाखको लागतमा लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । बागलुङ नगरपालिका र स्थानीयको आर्थिक सहयोगमा पाखाथर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गरेको लिफ्टिङ खानेपानी आयोजनाको सोमबार उद्घाटन गरिएको छ ।

आयोजनाको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का,बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सापकोटा, वडा नम्वर ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, नगर कार्यपालिका सदस्य धनमाया शर्माले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख राजु खड्काले बस्तीदेखि तल रहेका पानीका श्रोतको प्रयोग गर्न प्रविधि मैत्री योजनाको रुपमा रहेको लिफ्टिङ खानेपानी आयोजनाले स्थानीयलाई सहज भएको बताउनु भयो ।

आयोजनालाई आगामी दिनमा नगरपालिकाले थप सहयोग गर्ने भन्दै लिफ्टिङ खानेपानी आयोजनामा विद्युत महसुलको बारेमा कार्यपालिका बैठकबाट सहयोगको बाटो खोल्ने खड्काले बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सापकोटा, वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, स्थानीय मुरारीदत्त शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।निर्माण समितिका अध्यक्ष फणिन्द्र शर्माको अध्यक्षता खिलकुमारी शर्माको स्वागत र सचिव खिमराम ढुङ्गानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा खानेपानी आयोजना निर्माणमा सहयोग पु¥याउने तथा जग्गा उपलव्ध गराउने व्यक्तिलाई सम्मान गरिएको थियो ।

आयोजना सम्पन्न भएपछि खानेपानीको चरम अभाव खेप्दै आएका बागलुङ नगरपालिका वडा नं ३ र ४ उपल्लो पाखाथरका ७७ घर तथा एक सामुदायिक विद्यालयमा खानेपानीको सहज सुविधा पुगेको छ । पाँच मुललाई केद्रित गरेर मात्रै खानेपानी आयोजना सम्पन्न भएको छ । पच्चीस एमएमको पाइपमा जुरेढुङ्गाको मुहानबाट सोझै सङ्कलन ट्याङ्कीमा आएको छ भने पधेराघर, रिठाबोटसहितका कुवाको पानीलाई ४० एमएमको पाइपबाट १०० मिटरमाथि खत्रीबारीमा लिफ्ट प्रविधिमार्फत लगेर घरमा ‘एक घर, एक धारा’ निर्माण गरी घर घरमा वितरण गरिएको छ ।
खानेपानी उपभोग गरे वापत विद्युत् महसुल र मर्मतसम्भारका लागि मासिक रु २०० उपभोक्ताले खानेपानी उपभोक्ता समितिलाई तिर्नुपर्ने प्रावधान बनाइएको छ ।

योजना नबन्दासम्म स्थानीयबासीले कुवा र मूलको पानीमा निर्भर हुनुपर्ने बाध्यता थियो । तर अब यस्तो बाध्यता लिफ्ट खानेपानी आयोजना सम्पन्न भएसँगै सकिएको बागलुङ नगर कार्यपालिका सदस्य धनमाया शर्माले बताउनु भयो । विभिन्न चरण गरि बागलुङ नगरपालिकाको २६ लाख ४० हजार र स्थानीय उपभोक्ताले रु १५ लाख भन्दा बढी चन्दा सङ्कलन गरी योजना सम्पन्न भएको हो ।

विसं २०३८ मा जुरेढुङ्गाको मूलको पानी सामुदायिक धारामार्फत उपभोग गर्दै आएकोमा उपभोक्ताको संख्या बढेपछि खानेपानीको समस्या सृजना भएको थियो । खानेपानीको अभाव झेल्दै आएका स्थानीयवासीले उपल्लो पाखाथर टोल विकास संस्थामा आवद्ध भई नयाँ घरले रु ४१ हजार र पुरानो घरले रु २६ हजार सङ्कलन गरी रु १५ लाख र नगरपालिको २६ लाख ४० हजार सहयोगबाट लिफ्ट खानेपानी आयोजना सम्पन्न भएको हो । उपल्लोपाखाथर बागलुङ नगरपालिका–३ र ४ वडामा पर्दछ ।