
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
यसै क्रममा गण्डकी प्रदेशको बागलुङ जिल्लाको प्रतिनिधि सभा निर्वाचनकाे दुवै क्षेत्रमा गठवन्धनका उम्मेदवारहरुले निरन्तर अग्रता लिइरहेका छन् ।
मंगलबार बिहान सम्मको मत गणनाको तथ्यांकअनुसार क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चा अध्यक्ष समेत रहेका गठबन्धनको तर्फबाट उम्मेदवार बनेका चित्रबहादुर केसीले ३२३ मतान्तरले अग्रता लिइरहेका छन् । केसीले २ हजार ५ सय १६ मत प्राप्त गर्दा एमालेका सुर्य पाठकले २ हजार १ सय ९३ मत सहित केसीलाई पछ्याइरकेका छन भने राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेल १ हजार ४ सय ४४ मत सहित तेस्रो स्थानमा छन् ।
उता जिल्लाको पश्चिम क्षेत्र नम्बर २ मा पनि गठबन्धन कै अग्रता रहेको छ । गठबन्धन प्रतिनिधि सभा उम्मेदवार बनेका नेपाल सरकारका शिक्षा मन्त्री तथा माओवादी केन्द्रका सचिव समेत रहेका देवेन्द्र पौडेल ६०८ मतान्तर सहित अग्रता लिइरहेका छन् । पौडेलले ४ हजार १ सय ३५ मत प्राप्त गर्दा एमाले उम्मेदवार मञ्जु शर्मा चालिसेले ३ हजार ५ सय २७ मत सहित पछ्याइरहेका छन भने राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्रिले ६ सय ८९ मत सहित तेस्रो स्थानमा छन ।
मत गणनाको सुरु देखि नै गठबन्धनको अग्रता रहेको छ ।
प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ को क मा एमालेका हिराबहादुर खत्री ४ सय ७ मतले अगाडि छन । खत्रीले ३ हजार ५ सय ३९ मत ल्याउँदा गठबन्धनका उम्मेदवार दिपेन्द्र बहादुर थापाले ३ हजार ७९ मत सहित पछ्याइरहेका छन् ।
त्यस्तै प्रदेश सभा ख मा नेपाली काङ्ग्रेस युवा नेता डिल्लीराम सुवेदीले १ हजार १ सय ९८ मतान्तर सहित अग्रता लिइरहेका छन । सुवेदीले ४ हजार ९२ मत ल्याउँदा एमालेका नवराज पौडेलले २ हजार ८ सय ९४ मत सहित पछ्याइरहेका छन ।
उता क्षेत्र नम्बर २ को प्रदेश सभा क मा नेपाली काङ्ग्रेसका जिल्ला सभापति समेत रहेका गठबन्धनका उम्मेदवार जित बहादुर शेरचनको अग्रता कायमै रहेको छ । शेरचनले ५ हजार २ सय ६३ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती ४ हजार ९ सय १२ मत सहित पछ्याइरहेका छन ।
प्रदेश सभा ख मा पनि गठबन्धनकै अग्रता कायम छ । नेपाली काङ्ग्रेसका युवा नेता दोर्ण कुमार कुँवर १ हजार ६ सय १० को फराकिलो मतान्तर सहित अगाडि छन । कुँवरले ५ हजार ९ सय ३३ मत ल्याउँदा एमाले उम्मेदवार लक्ष्मण पुनले ४ हजार ३ सय २३ मत सहित पछ्याइरहेका छन् ।
दुवै क्षेत्रको मतगणना भने जारि रहेको छ ।









