
प्रदेश तथा प्रतिनिधिसभाका लागि बागलुङका दुई उम्मेदवारले आफैलाई मत हाल्न नपाउने भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी र शिक्षा मन्त्री देवेन्द्र पौडेलले आफैलाई मतदान गर्न नपाएका हुन् ।
आफू उम्मेदवार भएको क्षेत्रको मतदाता नामावलीमा आफ्नो नाम नभएकाले यो अवस्था आएको हो। उम्मेदवारी दिन जुनसुकै जिल्लाको मतदाता भए पनि मतदान गर्न मतदाता नामावली भएकै मतदान केन्द्रमा जानु पर्ने निर्वाचन आयोगले व्यवस्था गरेको छ । यहि व्यवस्थाले जिल्लामा २ उम्मेदवार मताधिकारविहिन बनेका हुन्।
त्यसैले पाँच दलीय गठबन्धनबाट बागलुङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले यस पटकको निर्वाचनमा आफैलाइ मत राख्न पाएनन् । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–८ स्थायी ठेगाना रहेका केसीको बागलुङमा मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएका हुन् ।
बागलुङ जिल्लाबाट बसाइँसराइ गरी बुटवलमा नाम सारेको कारण यहाँ नाम नभएकोले यस्तो परिस्थिति आएको नेता केसीले बताउनु भयो ।
प्रतिनिधिसभाको दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङको क्षेत्र नम्बर २ बाट नेकपा माआेवादी केन्द्रबाट उम्मेदवार बनेका वर्तमान शिक्षा मन्त्री समेत रहेका देवेन्द्र पौडेलले पनि यसपटकको निर्वाचनमा मतदान गर्नबाट बन्चित भए । पौडेलको नाम क्षेत्र नम्वर १ मा पर्ने बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरको मतदाता सुचिमा रहेको छ ।
देशको १६५ निर्वाचन क्षेत्रमध्ये जुनसुकै क्षेत्रबाट पनि निर्वाचन लड्न पाउने नीतिका कारण देशका चर्चित नेताहरूले निर्वाचन क्षेत्र फेरेर निर्वाचन लड्दा आफैलाइ भोट हाल्नबाट बन्चित भएका हुन् ।
विशेष चासोका साथ हेरिएको क्षेत्र नम्वर १ मा पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी र निवर्तमान सांसद सूर्य पाठकबिच प्रतिस्पर्धामा हुँदै छ भने क्षेत्र नम्वर २ मा पाँच दलिय गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट उमेदवार बनेका शिक्षा मन्त्री देवेन्द्र पौडेल र नेपाली काग्रेस परीत्याग गरी एमालेबाट टिकट पाएकी मञ्जु शर्मा चालिसे विच प्रतिस्पर्धामा हुने भएको छ ।









