कुश्मिसेराबाट निर्वाचन बहिष्कार गर्ने मशालका एक दर्जन नेता कार्यकर्ता पक्राउ

-


     हिडन खबर    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित


प्रहरीले आसन्न मंसिर ४ गते हुने निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का १३ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।

बागलुङ जिल्लाको जैमिनि नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले मंगलबार आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको कोणसभाबाट नेकपा (मशाल)का पोलिटब्युरोे सदस्य ७० वर्षीय कृष्णराज पौडेल सहित १३ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले बताए ।

कुश्मिसेरा प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक मिनबहादुर खत्रीको टोलीले उनीहरुलाई निर्वाचन विरोधी पर्चासहित कोणसभा कार्यक्रम गरेको स्थानबाटै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अखिल भारत नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष ५३ वर्षीय देबबहादुर लामिछाने, केन्द्रिय सदस्य ४६ वर्षीय सुर्यबहादुर थापा, जैमिनी नगर सदस्य ५४ वर्षीय रमाकान्त शर्मा, रत्तिम सांस्कृतिक अभियानका केन्द्रिय उपाध्यक्ष ५२ वर्षीय दलबहादुर विक, नेकपा (मशाल)का कास्की जिल्ला प्रवक्ता ४३ वर्षीय विक्रम थापा, बागलुङ जिल्ला सदस्य ४२ वर्षीय दिपक गुरुङ, काठमाडौ महानगर अध्यक्ष ४६ को खगेश्वर शर्मा, समर्थक ३९ वर्षीय लालबहादुर नेपाली, ३५ वर्षीय सागर कुँवर, ४८ वर्षीय आकाश गौतम र ३० वर्षीय पहाड विष्ट र पार्टीका केन्द्रिय प्रतिनिधि ४७ वर्षीय नारायण सापकोटा पनि पक्राउ परेका छन् ।
उनीहरुलाई कुश्मिसेरा प्रहरी चौकीमा राखि थप अनुसन्धान गरिरहेको प्रमुख ज्ञवालीले बताए ।