संविधानको रक्षा र लोकतन्त्र बचाउन गठबन्धन : जनमोर्चा अध्यक्ष केसी

-


     हिडन खबर    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन्। बागलुङको जैमिनी नगरपालिका ७ जैदीमा आयोजित चुनावी सभामा बोल्दै उनले पटक–पटक संसद्लाई भत्काउनेलाई भोट दिन नहुने बताए।

सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधि सभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको बताए। उनले मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरेका थिए।

केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने हुँदा यसलाई रोक्न जनता अग्रसर हुनु पर्ने उनले बताए।‘ एमालेलाई अब भोट माग्ने अधिकार छैन, केपीले नैतिक अधिकार गुमाइसके, पटकपटक संसद भत्काउनेलाई अब जनताले सबक सिकाउने छन्, उनले भने, ‘गठबन्धन संविधानको रक्षा र लोकतन्त्र बचाउन बनेको हो, अहिले जति कराए पनि मङ्सिर ४ पछि प्रतिगमन टाउको उठाउन नसक्ने गरी ढल्नेछ, नेपाली जनताले ओलीलाई चिनिसके।

उनले आगामी निर्वाचन प्रतिगमन र अग्रगमनका बीच प्रतिस्पर्धा हुने बताए। प्रतिगमनको विरुद्धमा र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको हुँदा सहजरूपमा चुनाव जित्ने केसीको दाबी छ।

कार्यक्रममा क्षेत्र नं. १ प्रदेश सभा ख का उम्मेदवार काँग्रेसका युवा नेता डिल्लीराम सुवेदीले प्रदेश सभामा गएर मुख्य कुरा निति निर्माण नै भएका कारण यहाँका हरेक वर्गलाई सुहाउँदो निति निर्माणका लागि आफुले पहल थाल्ने बताए । उनले पाँच वर्षमा आफुले यो गर्छु त्यो गर्छु भन्दा पनि यहाँको हरेक क्षेत्रका सम्भावना हेरेर गर्न सक्ने काम मात्र अगाडी बढाउने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रदेश सभाका समानुपाति उम्मेदवार चम्पादेवी खड्का, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी , नेकपा एकिकृत समाजबादीका नेता श्रीप्रसाद शर्मा , काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्मा, माओबादी केन्द्रका प्रदेश सभाका समानुपातिक उम्मेदवार टिकादेवी विक लगाएतले सम्मोधन गरेका थिए ।