
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन २ हप्ता मात्रै बाँकी छ । स्वच्छ निर्वाचन सञ्चालनका लागि आयोगले निर्वाचन आचारसंहिताको कडाइका साथ लागू गरिरहेको जनाएको छ तर दिनदिनै आचारसंहिता उल्लंघनका घटना घटिरहेका छन् ।
यसैबिच बागलुङ जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई आचारसंहिता विपरीत आँकलन गर्दै फेसबुकमा सर्वेक्षण गरिएको छ ।
रुटीन अफ बागलुङ बन्द(Routin of Baglung Banda) नामक फेसबुक पेजले उम्मेदवारको फोटो राख्दै निरन्तर मत सर्वेक्षण गरिरहेको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।
निर्वाचनका प्रयोजनका लागि निर्वाचन आचारसंहिता, २०७९ लागु भइरहेको सन्दर्भमा आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको भन्दै सो नगर्न आग्रह गरेको हो ।
निर्वाचन आयोगको यो पत्र हेर्नुहोस्

तर उक्त पेजले (https://www.facebook.com/R.O.Baglungbanda/) प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका उम्मेदवारको मत सर्वेक्षण गरिरहेको छ ।
यो हेर्नुहोस्



यस विषयमा कानुनी कारबाही गरिने बागलुङ जिल्लाका मुख्य निर्वाचन अधिकृत डाक्टर दिवाकर भट्टले बताउनुभयो ।
साथै आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ ।
उपरोक्त व्यवस्थाहरु विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही गरिने समेत आयोगले चेतावनी दिएको छ ।









