बागलुङमा नवौं राष्ट्रिय खेलकुद २०७९ को तयारी पुरा !

- सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ९ वटा टिमका २ सय ५० खेलाडीले ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने आईटीएफका सचिव समेत रहेका बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

-


     हिडन खबर    
     असाेज २८ गते २०७९ मा प्रकाशित


“एकताबद्ध देश, खेलकुदको सन्देश” भन्ने मुल नाराका साथ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आई टि एफ तेक्वान्दोको खेल बागलुङमा असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ । बागलुङ बजारको बाङ्गेमा सञ्चालन हुने उक्त खेल बागलुङ नगरपालिकाको संयोजनमा सञ्चालन हुने खेलको तयारीको बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीसमेत पूर्वाधार निर्माण र व्यवस्थापनमा खटिएका छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागलुङमा ढिला गरी पूर्वाधार बनाइएको हो । तीन दिनदेखि पूर्वाधार निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ। समय ढिला भएकाले रातदिन गरेर खेलस्थल निर्माण भइरहेको हो । राष्ट्रिय खेलकुद परिषद्ले आईटीएफ तेक्वान्दो सञ्चालन गर्ने निर्णय ढिला दिएपछि पूर्वाधारको काममा पनि ढिलाइ भएको हो ।

बागलुङ नगरपालिका–१ को बाङ्गेचउरस्थित राष्ट्रिय खेल खेलाइने तेक्वान्दो कबर्डहलमा शनिबारदेखि आईटिएफ तेक्वान्दो प्रतियोगिता हुँदैछ । बजेट नपाएपछि बागलुङ नगरपालिकाले पूर्वाधारको काम गरेको हो ।
खेलका लागि अधिकांश प्रदेशका खेलाडी बागलुङ आइसकेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टिम बुधबारै आइसकेका थिए । अन्य खेलाडी पनि बिहीबार बेलुकीसम्म आइपुगेको आईटीएफकी महासचिव अञ्जु रावतले जानकारी दिनुभयो ।

भवन बनेर सम्पन्न भइनसकेको बागलुङ नगरपालिका–१ को तेक्वान्दो कभर्डहललाई रंगरोगन लगाउने र बाहिरी खण्डमा खाल्डा पुर्ने र सम्याउने काम भइरहेको छ ।

नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रमेश ढकालसमेत पूर्वाधार निर्माण र व्यवस्थापनमा खटिएका छन् । राखेपबाट बजेट नआएको, जिल्ला खेलकुद विकास समितिलगायत विषयगत संघलाई समेत जानकारी नभएपछि बागलुङ नगरपालिकाले आफ्नै लगानी गरेर पूर्वाधार निर्माण गरेको हो ।

प्रतियोगिता व्यवस्थापनको जिम्मा बागलुङ नगरपालिकाले लिएर तीन दिन अघिदेखि पूर्वाधार निर्माण, व्यवस्थापनलगायत काम थालेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ९ वटा टिमका २ सय ५० खेलाडीले प्रतियोगितामा भाग लिनेछन् । तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कांस्य पदकका लागि प्रतिस्पर्धा हुने आईटीएफका सचिव राजु खड्काले बताउनुभयो ।

उनका अनुसार प्रतियोगितामा महिलातर्फ ४५ केजीदेखि ७० केजी र पुरुषतर्फ ५० केजीदेखि ८५ केजी तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा गर्ने व्यवस्थापन मिलाइएको हो ।

पूर्वाधार निर्माणलाई सकेर असोज २९ गते उद्घाटन गर्न आईटीएफकी महासचिव अञ्जु रावतसहित केन्द्रीय पदाधिकारी, जिल्लास्थित विषयगत संघ, जिल्ला खेलकुद विकास समिति र नगरपालिकाले संयुक्त रूपमा काम गरेको हो ।

खेलाडीलाई खाना खुवाउने, सुरक्षा व्यवस्था र पर्यटकीय स्थलको भ्रमण गराउनेसमेतको व्यवस्थापन भएको आईटीएफका सचिव तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।