
चाडवाडमा हुने भिडमाडमा कालो बजारी हुनसक्ने भन्दै बागलुङमा बजार अनुगमनलाई तीव्र पारिएको छ । चाडपर्व नजिकिएसँगै बजारमा अखाद्य वस्तुको बिक्री वितरण तथा कालो बजारी हुन सक्ने भन्दै अनुगमनलाई तीव्र पारिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, बागलुङ नगरपालिका घरेलु तथा साना उद्योग विकास कार्यालयको टोलीले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा बागलुङ बजार क्षेत्रभित्र म्याद नाघेका खाद्य पदार्थहरुका बिक्री वितरण हुने गरेको भेटिएको छ ।
अनुगमनका क्रममा एक दर्जन किराना पसलमा म्याद गुज्रिएका सामान भेटिएको घरेलु तथा साना उद्योग विकास कार्यालय बागलुङ कासूचना अधिकारी विष्णु प्रसाद शर्माले बताउनु भयो । म्याद नाघेका सामग्री सोही स्थानमा नष्ट गरीएको थियो ।
पसलेहरुलाई आगामी दिनमा गुणस्तरीय सामग्री मात्र बेचबिखन गर्न आग्रह गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्राविधिक सहायक सहन्सा मेहताले बताउनु भयो । अखाध्य वस्तु बेच्ने तथा मूल्यसूचि कायम नगराएका पसलहरुलाई पहिलो चरणमा सचेत गराइएको र पटक पटक दोहोरिएमा कानुन बमोजिम कारबाही हुने मेहताले बताउनु भयो ।
चाडवाडको समयमा पसलहरुमा उपभोग्य सामान खरिद गर्न उपभोक्ताको निकै भिडभाड हुने गर्दछ । यहि भिडभाडको समयमा अखाद्य वस्तुको मिसावट तथा बिक्री हुने, कालो बजारी हुनेलगायत उपभोक्ता ठगिने सम्भावना हुन्छ ।
कालोबजारी नियन्त्रण, एकाधिकारको अन्त्य तथा कृतिम अभावको सृजना नहोस भनेर आफूहरु लागिपरेको घरेलु तथा साना उद्योग विकास कार्यालय बागलुङ कासूचना अधिकारी विष्णु प्रसाद शर्माले बताउनु भयो ।









