बागलुङ नगरपालिकाले सुपथ मूल्य पसल संचालन गर्ने तयारी

-


     हिडन खबर    
     भाद्र ३१ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिकाले नगरबासीलाई सस्तो र सुलभ मूल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

जिल्लाका १० स्थानीय सरकारमध्ये बागलुङ नगरपालिकाले पहिलो पटक दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

बागलुङ नगरपालिको उपभोक्ता हित संरक्षण समितिका संयोजक राजु खड्काको अध्यक्षतामा बसेको बैठकले बागलुङ नगरमा सुपथ मूल्य पसलको माध्यमबाट आम नागरिकलाई सेवा प्रवाह गर्ने आवश्यक्ता महसुस गरि सुपथ मूल्य पसलको सम्भाव्यता अध्ययन गर्न नगर उपप्रमुख राजु खड्काको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

समितिको सदस्यमा उपभोक्ता मञ्चका शैलेन्द्र कुमार श्रेष्ठ,खाद्य प्रविधि गुण नियन्त्रण कार्यलयका सौरभ श्रेष्ठ, उद्योगा वाणिज्य संघका ऋषिराम गौतम र जिल्ला प्रशासन कार्यलयका युवराज शर्मा रहनु भएको छ ।

नगरपालिकाले सरकारी मान्यता प्राप्त साल्ट ट्रेड्रिङ, नेपाल खाद्य संस्था, साझालगायतका संस्थाबाट आवश्यक सामग्रीहरु खरिद गर्ने र पसल संचालन गर्ने तयारी गरेको नगर उपप्रमुख खड्काले जानकारी दिनु भयो ।

बैठकले बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउने, विषय विज्ञको उपस्थितिमा बजार अनुगमन गर्ने निर्णय गरेको छ ।

बजारका केही व्यापारीहरुले यस अघिको निर्णय अटेर गर्दे पसलमा मुल्य सूची नराखेको पाइएकोले मुल्य सूची अनिवार्य गर्न लगाउने, पानीपुरी तथा चना चटपट खुल्ला रुपमा राख्न नपाउने गरि सुचना प्रवाह गर्ने निर्णय गरेको नगर उपप्रमुख खड्काले बताउनु भयो ।
स्थानिय उत्पादन फलफुल तरकारी बाहेकका अन्य सामाग्रीको ठेला वा सडकमा राखेर व्यापार गर्न रोक लगाउने तथा दर्ता विना संचालन भएका सवै प्रकारका घुम्ती व्यापारीलाई नियन्त्रण गर्ने नगरपालिकाले जनाएको छ ।