प्रतिनिधिसभा निर्वाचनमा बागलुङ १ जनमोर्चालाई छुट्याइएपछि कांग्रेसमा असन्तुष्टि

-


     हिडन खबर    
     भाद्र ३० गते २०७९ मा प्रकाशित


सत्तागठबन्धनबीच राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई सीट पाउने भएको छ ।

जनमोर्चाको भागमा बागलुङ क्षेत्र नम्बर १ र प्युठान परेको छ । अघिल्लो निर्वाचनमा निर्वाचित भएको आधारमा सिट भागवण्डा गरिंदा जनमोर्चाको भागमा प्युठान मात्रै पर्ने थियो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति जनमोर्चालाई दुई सिट दिन तयार भएपछि बागलुङ १ पनि उक्त दलको भागमा परेको छ ।

बागलुङ १ मा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नै प्रतिस्पर्धा गर्ने रुचि राखेपछि देउवा लचिलो बनेको कांग्रेसका एक नेता बताउँछन् । ‘प्रधानमन्त्री चित्रबहादुर जीलाई प्रतिनिधि सभामा ल्याउने पक्षमै हुनुहुन्थ्यो’ कांग्रेसका शीर्ष तहका नेता भन्छन्, ‘रामचन्द्र दाइले पनि दुई सिट जनमोर्चालाई दिन तयार हुनुभयो ।’

गठबन्धनका दलबीच प्रारम्भिक चरणको छलफलमा प्युठान मात्रै जनमोर्चाका लागि छुट्याइएको थियो । तथापि, उक्त दलको दाबी दुई सिटमा रहँदै आएको थियो ।

जनमोर्चा अध्यक्ष केसीलाई राष्ट्रिय सभामा ल्याउने गरी चर्चा पनि भएको थियो । सत्तारुढ दलमा भइरहेको छलफलमा केसीले प्रत्यक्षमा उठ्ने इच्छालाई दोहोर्‍याइरहे पछि उनका लागि पनि सिट छुट्याइएको हो ।
बागलुङ १ जनमोर्चालाई छुट्याइएसँगै कांग्रेस कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।

गठबन्धनका दलहरु वीच भएको प्रारम्भिक सहमति कार्यान्वयन भए प्रतिनिधि सभातर्फ कांग्रेसले बागलुङमा दुबै क्षेत्र पाउँदैन ।
बागलुङ १ मा जनमोर्चा र २ मा माओवादी केन्द्रले पाउने गरी सहमति निकट गठबन्धन पुगेको छ । अघिल्लोपटक माओवादी केन्द्रले जितेको आधारमा बागलुङ २ छोड्न स्थानीय कांग्रेसका नेता कार्यकर्ता तयार छन् । तर, क्षेत्र नम्बर १ पनि अर्को दललाई सुम्पिदा कांग्रेसमा नैराश्यता छ । बागलुङ १ मा अघिल्लोपटक एमालेका उम्मेदवार विजयी भएका थिए ।

प्रतिनिधि सभातर्फ एउटा कांग्रेसको भागमा पर्नुपर्ने जिल्ला सचिव हरिहर शर्मा बताउँछन् । ‘प्रतिनिधि सभातर्फ एउटा क्षेत्र हामीले पाउनुपर्छ । तालमेलको बाध्यताले पाउन सकिएन भने बागलुङ १ का दुवै प्रदेश सभाका उम्मेदवार कांग्रेसका हुनुपर्छ’ जिल्ला सचिव शर्माले भने,’कांग्रेसका लागि सम्मानजनक भागवण्डा नभए भोट क्रस गराउन सकिँदैन ।’

स्थानीय तहको आधारमा बागलुङ १ मा जनमोर्चा चौथो शक्ति बनेको छ । यस क्षेत्रमा स्थानीय तहमा एमालेले २१ हजार ९७८ मत, कांग्रेस १९ हजार ५१३ , जनमोर्चा ६ हजार ६७ , स्वतन्त्रले ४ हजार ८२ मत पाएका छन् । माओवादीले पाँचौ स्थानमा २ हजार ५२९ मत र एकीकृत समाजवादीले २ हजार ४५१ मत ल्याएको छ । स्थानीय तहमा सत्ताघटक दलमा तालमेल भएको थियो ।

बागलुङ र जैमुनी नगरपालिका तथा काँठेखोला र बरेङ गाउँपालिका बागलुङको क्षेत्र नम्बर १ मा पर्दछन् । तालमेलबाट यी चारै तहमा गठबन्धनका उम्मेदवार विजयी भएका थिए । गठबन्धनको बलमा जनमोर्चाका उम्मेदवारले जैमुनी र वरेङ जितेका थिए ।

२०७४ मा बागलुङ १ मा वामगठबन्धनबाट एमालेका सूर्य पाठक निर्वाचित भएका थिए । उनले ३३ हजार ६५७ मत ल्याउँदा कांग्रेस उम्मेदवार चम्पादेवी खड्काले २० हजार ६१६ मत ल्याएकी थिइन् ।