
जिल्ला प्रहरी कार्यालय बागलुङले ठुलो परिणाममा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
बागलुङ जिल्लाको प्रवेशद्वार मालढुङ्गाको चेकपोस्टमा चेकजाँच गर्ने क्रममा २ जना युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी इन्द्रबहादुर रानाले बताए ।
काठमाडौंबाट बागलुङ तर्फ जाँदै गरेको बा ३ ख ९११२ नम्बरको माइक्रोबसमा चेकजाँच गर्ने क्रममा उक्त बसका सह-चालक गोरखा जिल्ला पालुङटार नगरपालिका-६ का १८ वर्षीय कृष्ण नेपालीको साथमा रहेको कालो रङ्गको झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा Tramadol ५८ पत्तामा(५७८ क्यापसुल), Nitrazepam लेखेको १ पत्ता (९ क्यापसुल), गाँजाको धुलो २५ ग्राम समेत फेला पारेको रानाले बताए ।
पक्राउ परेका नेपाली उपर थप अनुसन्धान गर्दा उक्त लागू औषध लिनकालागि कुरिरहेको अवस्थामा बागलुङ नगरपालिका वडा नम्बर-९, तित्याङका वर्ष १९ का अमृत परियारलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
पक्राउ परेका दुवैजना उपर जिल्ला अदालत बागलुङबाट १० दिनको म्याद थप गरि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताउनुभयो ।
पछिल्ला वर्षहरूमा किशोरावस्थाका बालबालिकाहरुमा लागूऔषधको प्रयोग बढ्दो देखिएकाले प्रहरीले सुष्म अनुसन्धान सहित जनचेतनामूलक कार्यक्रम अगाडि बढाइरहेको प्रमुख ज्ञवालीले बताए ।









