बागलुङ नगरपालिकाको आयोजनामा वडा नम्वर ५ मालिकामा सेवा प्रवाह घुम्ती शिविर

-


     हिडन खबर    
     भाद्र २३ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिकाको आयोजनामा वडा नम्वर ५ मालिकामा बुधबार सेवा प्रवाह घुम्ती शिविर सम्पन्न भएको छ । जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यले संचालित शिविरमा शिविरमा स्वास्थ्य सेवा, आँखाको उपचार,अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण, माटो परिक्षण, वित्तिय साक्षरता लगायतका सेवा प्रदान गरिएको थियो । शिविरमा नगरपालिकाले वडाबाट छनौट भएका योजना र नगरपालिकाबाट विनियोजन भएका योजनाको सम्झौता गरिएको छ भने उपभोक्ता समितिकै नाममा वडा तहमै बैंकको खाता संचालन गरिएको छ ।
वडाबाट नगरपालिका कार्यालयमै सेवा लिन आउँदा हुने कठिनाई र समस्यालाई मध्यनजर गरी समयको बचत तथा नागरिकको सहजताका लागि वडा तहमै सेवा प्रवाह घुम्ती शिविर संचालन गरिएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनु भयो । नगरप्रमुख श्रेष्ठले आफु निर्वाचित भएर नगरपालिकामा आए पछि पहिलो कार्यक्रम भएको बताउनु भयो । गाउँमै सेवा प्रवाह गरी आम नागरिककलाई सर्वशुलभ सेवा प्रदान गर्ने दायित्व रहेको बताउनु भयो ।

मालिकाको शिविरमा चालु आर्थिक वर्षमा स्विकृत ११ वटा योजना सम्झौता गरिएको छ । योजना सम्झौतामा महिला अध्यक्ष रहेका ७ र पुरुष अध्यक्ष रहेको ४ रहेका छन् । सवै योजनाको नाममा बैंक खाता पनि संचालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनु भयो।
शिविरमा १०७ जनाले सामान्य स्वास्थ्य परिक्षण सेवा लिएका थिए भने, ४४ जना महिलाको पाठेघरको जाँच गरिएकोमा १ जाामा रिङ्ग पेसरी राख्नुपर्ने समस्या रहेको थियो । शिविरमा ७६ जनाको मधुमेह ५ जनाको कोरोना, १६ जनाको मलेरिया र ४६ जनाको दन्त परिक्षण गरिएको स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले जानकारी दिनु भयो ।
शिविरमा नयाँ र पुरानो गरी ७ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । जसमा ‘क’ वर्गको रातो कार्ड १ जनालाई ‘ख’ वर्गको निलो कार्ड १ र ‘ग’ वर्गको पहेलो कार्ड ५ जनालाई प्रदान गरिएको महिला विकास अधिकृत सरस्वती शर्माले जानकारी दिनु भयो ।
वडा भित्रको भुभाग समेटीने गरीे करीव ५० रोपनी जमिनको कभरेज लिई १० वटा स्थानका नमुना संकलन गरी माटो परीक्षण गर्दा माटोमा औसतमा पिएच ५।४७ रहेकोेले माटोमा अम्लीयपन अधिक रहेको भेटिएको हुँदा माटो परिक्षण गरिएका कृषकहरुलाई सिफारीस मात्रामा कृषि चुनको प्रयोग गर्न सुझाइएको कृषि प्राविधिक लछुता बरुवाल ।
शिविरमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सेवा अन्तर्गत १३ जनाको सामाजिक सुरक्षा भत्ता अभिलेख नविकरण गरिएको थियो ।
घुम्ती शिविरमा उपभोक्ता समितिका पदाधिकारी, कृषक लगायतका ३२ जना सरोकारवालाहरुलाई योजना संचालन, फरफारक, वित्तीय साक्षरता, कृषि प्रविधि सचेतना जस्ता विषयमा अनुशिक्षण गरिएको थियो । तेस्रो चरण अन्तरगतको शिविर विहिबा बानपा–६ मा संचालन हुने बताईएको छ ।

कार्यक्रम वानपा ५ का वडा अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षता वडा सदस्य चक्रपाणी शर्माको स्वागत र नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्त प्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।