
बागलुङ नगरपालिका ११ तल्लो रामतोलामा पहिरो खस्दा दर्जनबढी घरपरिवार विस्थापित भएका छन् । केही दिनदेखि चर्केको जमिन बुधबार बिहानदेखि पहिरो चल्न थालेको हो ।
पहिरोले सडक र जंगल तथा पीपलको चौतारो समेत बगेपछि गाउँभरी त्रास फैलिएको छ । यहाँका ५० घरमा खानेपानी अभाव भएको छ । पोल ढलेकोले आसपासका अन्य घरमा समेत बिजुली अवरुद्ध भएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनु भयो।
उक्त पहिरोले स्थानीय कुलराज शर्मासहित दर्जनबढी घरपरिवार विस्थापित भएका छन् । सयौं रोपनी जमिनको सुन्तला खेती, अन्य अन्नपातसमेत बग्न थालेकोले केही घर परिवार सुरक्षित ठाउँको खोजीमा रहेको स्थानीय विष्णु पौडेलले जानकारी दिनु भयो । जमिन चिरा परेको स्थान हेर्दा थप सयौं रोपनी जमिन, घर तथा सडक बग्ने अबस्थामा रहेको पौडेलले बताउनु भयो।
पहिरोले तमाखुबारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको छ । बगेको पहिरोले जैमिनी नगरपालिका १ को ओडार भन्ने स्थानमा पनि जोखिम बढेको छ । केही स्थानमा क्षति भइसकेको छ । रामतोलादेखि तल्लो खण्ड जैमिनी नगरपालिका १ मा पर्छ । यो संकेत हेर्दा त्यहाँको बस्ती नै जोखिम भएको र धेरै घरहरु विस्थापित हुने अस्था आएको पौडेलले जानकारी दिनु भयो । केही दिनदेखिको वर्षात्ले थप पहिरो खसेको बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले बताउनु भयो। तत्काल कुनै उपायले पनि पहिरो रोक्न सकिने अवस्था नरहेको र सिंगो पहाड खस्ने अवस्थामा रहेको गिरीले बताउनु भयो । यहाँका ढालनाथ शर्मा, कुलराज शर्मा, बीरबहादुर केसी, भूमिश्वर शर्मा, मीनबहादुर केसी र दिलबहादुर केसीको घर भने स्थानीयले मंगलबार र बुधबार गरी खाली गराएका छन् ।











