माध्यमिक बिधालय शिक्षक युनियन बागलुङद्वारा प्रशासनमा ध्यानाकर्षण पत्र

- युनियनले आफ्ना मागपुरा गर्न दबाबमूलक योजना अनुसार पत्र पेश गरेको हिस्टुन बागलुङका अध्यक्ष डिल्लीराज उपाध्यायले बताउनुभयो ।

-


     राम प्रसाद घिमिरे     
     भाद्र २१ गते २०७९ मा प्रकाशित


माध्यमिक बिधालय शिक्षक युनियन(हिस्टुन)बागलुङले जिल्ला प्रशासन र शिक्षा बिकास तथा समन्वय इकाईमा विभिन्न मागसहित ध्यानाकर्षण पत्र पेस गरेको छ ।

केन्द्रीय समितिद्वारा घोषित आन्दोलनका कार्यक्रम अनुसार देशभरका प्रशासन र साविक जिल्ला शिक्षा कार्यालय हालको शिक्षा बिकास तथा समन्वय इकाईमा आफ्ना मागपुरा गर्न दबाबमूलक योजना अनुसार पत्र पेश गरेको हिस्टुन बागलुङका अध्यक्ष डिल्लीराज उपाध्यायले बताउनुभयो ।

सरकारले आफूहरुलाई अन्याय गरेकाले राष्ट्रिय कार्यक्रम अनुसार मागपुरा गर्नकालागि देशभरमा नै यो आन्दोलन चलेको उपाध्यायले बताउनुभयो ।

ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ:

नयाँ संविधान जारी भई झन्डै ७ वर्ष वित्न लाग्दा समेत संघीय शिक्षा ऐन आउन सकेको छैन । विश्वविद्यालयबाट प्रमाण-पत्र तह हटेपछी उच्च मा.वि.तह (कक्षा ११/१२) अहिले माध्यमिक तहमा समायोजन भएको छ । सो तहमा तीसौ वर्ष देखि कार्यरत शिक्षकहरुको व्यवस्थापनको बारेमा शिक्षा ऐनको नवौ संशोधनमा समेत कुनै व्यवस्था नहुनु दुःखद छ । देशको शैक्षिक संरचनालाई अन्तर्राष्ट्रिय परिवेश अनुकूल बनाउदै लैजाने र राज्यले अपेक्षा गरेको गुणस्तरयुक्त मध्यम जनशक्ति आपूर्ति गर्न उच्च माध्यमिक शिक्षा ऐन २०४६ बनेको थियो । त्यही २०४६ सालको उच्च माध्यमिक शिक्षा ऐन बमोजिम २०४९ सालमा जम्मा ३८ वटा विद्यालयलाई अस्थायी सम्बन्धन दिएर तत्कालीन समयमा करिव १ हजार ३ सय ४२ विद्यार्थीहरु भर्ना गरेर उच्च मावि तहको अध्ययन अध्यापन गर्ने गराउने कार्यको थालनी गरिएको हो तर आजका मिति सम्म आइपुग्दा पनि सरकारले कक्षा ११ र १२ पढाउने विद्यालयको संख्या मात्रै थप्ने कार्य गर्यो तर शिक्षक दरवन्दी र व्यवस्थापनको बाटोमा खासै ध्यान दिएन ।

अहिले देशभर साविक सामुदायिक उच्च माध्यमिक विद्यालयहरुको संख्या ३ हजार ५ सय भन्दा बढी छ जसमा साढे ७ लाख विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । तर यतिका संख्याका विद्यार्थीका लागि १ जना पनि स्थायी शिक्षकको व्यवस्था राज्यका तर्फबाट अहिले सम्म पनि नगरिन् विडम्बनाको बिषय बनेको छ ।

माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन) राष्ट्रिय स्तरको ट्रेड युनियन अधिकार प्राप्त संघ भएको र संगठनले शिक्षकहरुको पेशागत स्थायीत्व एवं न्यायोचित सेवा, शर्त र सुविधा प्राप्तीका लागि निम्नानुसार शान्तिपूर्ण दवावमूलक प्रचारात्मक कार्यक्रम गर्ने निर्णय गरेको र राज्यबाट कुनै सुनुवाई नभएमा आउँदो भाद्र २३ गते पत्रकार सम्मेलन (जिल्ला, प्रदेश र केन्द्र) गरी चरणवद्ध कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने कुरा समेत अवगत गराउन चाहन्छौँ ।

कार्यक्रमहरु
१) २०७९ भाद्र १७ र १९ गते देशभरका ७५३ पालिका प्रमुखहरु र केन्द्रमा (प्रधानमन्त्री, शिक्षामन्त्री, अर्थमन्त्री, कानुनमन्त्री, शिक्षा सचिव, सरकारमा विपक्षी दलका नेता) ज्ञापन पत्र बुझाउने ।

२) २०७९ भाद्र २० र २१ गते सवै जिल्लामा जिल्लाका सिडिओहरु, जिल्ला शिक्षा समन्वय केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक सेवा आयोग र राष्ट्रिय परीक्षा बोर्डलाई ज्ञापन पत्र दिने ।

३) २०७९ भाद्र २२ गते विहान देखि बेलुका सम्म देशभरका सबै साविक उ.मा.वि. तहमा कार्यरत शिक्षकहरुले सरकारका प्रधानमन्त्री (फोन नं. ९८५१०८७२८८), अर्थमन्त्री (फोन नं.
९८५११००४४३) र शिक्षामन्त्री (फोन नं. ९८५११४८२८०) लाई एसएमएस, फेसबुक वा मेसेन्जर मार्फत “कक्षा १२ सम्मको निःशुल्क विद्यालय शिक्षा तर स्थायी शिक्षक शुन्यं, किन?” भन्ने सन्देश पठाई शिक्षकहरुका मागहरु सम्बोधन हुन दवाव सृजना गर्ने ।

४) हिस्टुनका मागहरुप्रति सरकारद्वारा सम्वोधन हुन चासो नदेखाइएमा वा सुनुवाई नभएमा भाद्र २३ गते पत्रकार सम्मेलन (जिल्ला, प्रदेश र केन्द्र) गरी कडा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने ।