
जिल्ला प्रहरी कार्यालय बागलुङले निसीखोलाको किनारमा भेटिएको टाउको बिनाको शवको सफल अनुसन्धान गर्ने दुई प्रहरी अधिकृतसहित सात जना प्रहरी कर्मचारीलाई नगद सहित पुरस्कृत गरेको छ ।
श्रीमानको निर्मम तरिकाले हत्या गरिएका ब्यक्तिकाे अनुसन्धान गरि दाेषी समक्ष पुगी पक्राउ गर्न सफल भएको भन्दै घटनाकाे अनुसन्धान गर्ने प्रहरी पुरस्कृत भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले भाद्र १ गते निसीखोला ४, कालीमाटीस्थित निसीखोलाको किनारमा कामीडाँडा बस्ने गुनबहादुर कामीको छोरा २५ बर्षीया तुलबहादुरको घाँटी काटिएको अवस्थामा टाउको नभएको शव भेटिएपछि सफल अनुसन्धान गरी हत्यामा संलग्न उनको श्रीमती २२ वर्षीया श्रीमती कुमारी कामी र साली १८ वर्षीया मनीषा बिकलाई ५६ घण्टाभित्रै पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको भन्दै प्रहरी निरीक्षक भुपेन्द्र गिरीसहित सात जना प्रहरीलाई नगद सहित पुरस्कृत गरेको हो ।
पुरस्कृत हुने प्रहरी कर्मचारीमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक भुपेन्द्र गिरी, ईलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा (रेग्मी), प्रहरी चौकी ढोरपाटन बागलुङ दरबन्दी भइ प्रहरी चौकी निसीमा कायारर्त प्रहरी सहायक निरीक्षक लीलामणि उपाध्याय, नेपाल प्रहरी प्रदेश कार्यालय कास्कीमा कायारर्त प्रहरी सहायक निरीक्षक कमल बस्याल, वडा प्रहरी कार्यालय रामबजार कास्की दरबन्दी भई ईलाका प्रहरी कार्यालय बुर्तिवाङमा कायारर्त प्रहरी हवल्दार शेर बहादुर जिसी, जिल्ला प्रहरी कार्यालय मनाङ दरबन्दी भइ जिल्ला प्रहरी कार्यालय बागलुङमा कायारर्त प्रहरी सहायक हवल्दार रामचन्द्र चापागाईं र वडा प्रहरी कार्यालय बैदाम कास्की दरबन्दी भई जिल्ला प्रहरी कार्यालय बागलुङ कार्यरत प्रहरी जवान कोमल खत्री रहेका छन् ।
अपराध अनुसन्धानमा प्रशंसनीय एवं उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुको समेत कार्य सम्पादन स्तरमा सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोवल उच्च रहने विषयलाई दृष्टिगत गरी उनीहरूले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (ख) बमोजिम अभिलेखमा जनिने गरी जिल्ला प्रहरी कार्यालय बागलुङले भाद्र १९ गते (आइतबार) नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको ज्ञावलीले बताउनुभयो ।
उक्त घटनाको सफल अनुसन्धानमा इमानदार एवं निष्ठाका साथ प्रशंसनीय कार्य गर्ने प्रहरीलाई पुरस्कृत गरिएको बताउँदै उनलेे राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने बिभागको नीति अनुसार नै प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको बताए ।
प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरेर मुख्य दाेषी लाई पक्राउ गर्न सफल भएको छ यसलाई जिल्ला बासीले प्रहरीको सफलता मानेका छन् ।
गत साउन २५ गते निसीखोलमा टाउको काटिएको अवस्थामा एक पुरुषको शव फेला परेको थियो। प्रहरीले सो घटनामा झण्डै दुई हप्ताको लामो अनुसन्धानपछि हत्या गरिएका व्यक्तिको सनाखत र हत्यामा संलग्नहरूको पहिचान गरी पक्राउ गर्न सफल भएको थियो। जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय बागलुङ दरबन्दी भएका प्रहरी निरीक्षक भूपेन्द्र गिरी र इलाका प्रहरी कार्यालय गलकोट दरबन्दी भएका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा (रेग्मी)लाई नगद १२ हजार रुपैयाँका दरले पुरस्कृत गरेको हो।
प्रहरी निरीक्षकद्वयले आफूलाई दिइएको जिम्मेवारी तथा पदीय दायित्वलाई अत्यन्त इमानदारी, बफादारी तथा व्यावसायिक सुझबुझका साथ कर्तव्यनिष्ठ भई प्रशंसनीय ढंगले उत्कृष्ट कार्यसम्पादन गरेको हुनाले पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरीक्षकद्वयको व्यहोरा किताबमा जनाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङले राष्ट्रिय किताबखानालाई पत्रसमेत पठाएको छ।
यस्तो थियो घटनाको नाालिबेली
बागलुङको निसिखोलामा साउन २५ गते एक पुरुषको शव टाउको काटिएको अवस्थामा फेला पर्याे। इलाका प्रहरी कार्यालय झिवाखोलाले यसबारे जिल्ला प्रहरी कार्यालय बागलुङलाई सूचना दिएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकसहितको टोली घटनास्थल पुग्यो। अनुसन्धानका क्रममा मृतकको दाहिने हातमा भएको ट्याटुको आधारमा उनी बागलुङको निसीखोला गाउँपालिका वडा नं. ५ बस्ने २४ वर्षीय फुर्से भन्ने तुलबहादुर कामी रहेको खुल्यो। प्रहरीले उनकी श्रीमती कुमारी कामीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले श्रीमानको हत्या गरेको स्वीकार गरिन्।
प्रहरीका अनुसार कुमारीलेले साउन २५ गते राति १० बजे तुलाबहादुरको घन र चिर्पटले हानी हत्या गरेको र टाउको काटेर निसीखोलामा शव फालेको स्वीकार गरेकी छन्। राति तुलबहादुरसँग शारीरिक सम्बन्ध राख्दा उनले परस्त्रीको नाम लिएर कराउन थालेपछि कोठा नजिकै रहेको फलामको घन र चिरपट दाउराले टाउकोमा हिर्काएर बेहोस बनाएको र खुकुरीले आधा टाउको काटेको बयान कुमारीले प्रहरीसमक्ष दिएकी छन्।
आधा टाउको सोही कोठामै काटी डोकोमा राखेर नजिकै रहेको खोलामा लगेको र बाँकी टाउको शरीरबाट छुट्याई खोलामै मृत शव, टाउको, बोक्न प्रयोग गरीएको डोको र चिरपट दाउरो बगाएको उनले बताएकी छन्।
कुमारीले आफ्नी बहिनी मनिषा विकलाई सो घटनाको बारेमा बताएको तर मनिषाले उक्त घटनाको सूचना नदिएको र घटना ढाकछोप गरेकोले उनको समेतसंलग्नताको आशंकामा प्रहरीले उनलाई पनि भदौ ४ गते घरबाटै पक्राउ गरेको थियो।
दुवैमाथि अदलातबाट म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









