बागलुङ क्षेत्र नम्बर २ मा प्रचण्ड र प्रधानमन्त्री पत्नी आरजुको सिफारिस

-


     हिडन खबर    
     भाद्र २० गते २०७९ मा प्रकाशित


मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको लागि देशभर उम्मेदवार सिफारिस गर्न राजनीति पार्टी बैठक बस्दै नाम सिफारिस गर्न तल्लिन छन् । ५ दलीय गठबन्धन यो निर्वाचन सम्म कायम हुने लक्ष्यण देखिएपछि प्रमुख राजनीतिदल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री पत्नी आरजु राणा देउवा र पुष्पकमल दाहाल प्रचण्ड लाई बागलुङ क्षेत्र नम्बर २ बाट उमेदवारमा सिफारिस गरेको छ ।

नेपाली काँग्रेस र माओवादी केन्द्र बागलुङले बागलुङका दुबै प्रतिनिधि सभा क्षेत्रबाट उम्मेदवार आकांक्षीहरुको नामावली संकलन गरी सिफारिस गर्ने अभियान चलिरहेको बेला बागलुङ क्षेत्र नम्बर २ बाट भने नेकपा माआ‌ेवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसले प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई सिफारिस गरेको छ ।

अहिले उम्मेदवारको लागि सिफारिस भएका दुई जना उम्मेदवारले बागलुङमा मात्रै होइन केन्द्रीय राजनीतिमै यसले ठूलो चर्चा परिचर्चा पाएको छ । बागलुङ जिल्ला बाट पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्डलाई निर्वाचन उठाउदा यसले जिल्लाको समग्र बिकासमा समेत फाइदा पुग्ने नेकपा माआ‌ेवादी केन्द्रका पोलिटब्युरो सदस्य वलावति शर्माले बताए ।

अघिल्लो निर्वाचनमा आफ्नो उम्मेदवारले जितेको क्षेत्र भएकाले पनि अहिले पनि आफ्नै भागमा पर्नुपर्ने माओवादी नेता कार्यकर्ताले तर्क गर्ने गरेका छन्। बागलुङ क्षेत्र नम्बर १ का स्थाइ ठेगाना भएका देबेन्द्र पौडेल क्षेत्र नम्बर २ बाट चुनाव लडेर निर्वाचित भएपनि सो क्षेत्रलाई वेवास्ता गर्ने गरेको र आफ्नै क्षेत्रको उम्मेदवार हुनुपर्ने तर्क त्यस क्षेत्रका माओवादी नेता कार्यकर्ताले गरेका छन् । एकथरी कांग्रेसका नेताले प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको नाम हालेर चाकरी गरि टिकट आफुले ल्याउने रणनीति खेलेको समेत आरोप लगाएका छन् ।

यस्तै बागलुङको क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई सांसदमा सिफारिस गर्नुको मुख्य कारण बिशिस्ट ब्यक्तिहरूलाई जिल्लाबाट उठाउँदा यसले जिल्लाको विकासमा फाइदा पुग्ने नेपाली कांग्रेस पार्टीका नेता जगन्नाथ आचार्यले बताए ।

सत्ता साझेदार दलहरुबीचको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मै संगै लैजाने निर्णय गरेर केन्द्रमा सिट भागबन्डामा दलहरु व्यस्त छन्। बागलुङ क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसले आरजु राणा देउवाको नाम प्रतिनिधि सभा उम्मेदवारको रुपमा सिफारिस गरेर पठाएपछि सबैभन्दा बढि दबाबमा माओवादी केन्द्र परेको छ।

दलहरुबीच विगतमा सम्बन्धित दलले जितेको क्षेत्रमा उक्त दलको उम्मेदवार नै कायम राख्ने र एमालेले जितको ठाउँमा भागबण्डा गर्ने विषयमा छलफल चलिरहँदा काँग्रेसको निर्णयले दबाबमा परेको माओवादी केन्द्रले त्यसको काउण्टरमा प्रचण्डको कार्ड फालेको हुन सक्ने राजनीति वृतमा चर्चा हसन थालेको छ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङ जिल्लामा क्षेत्र नम्बर १ मा यसपटक ५ दलीय गठबन्धन कायमै रहेको खण्डमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी निर्वाचन लड्ने चर्चा पनि चलिरहेको छ । बागलुङको क्षेत्र नम्बर २ बाट माआ‌ेवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेतृ आरजु राणा देउवाको चर्चाले राजनीति बजार तताउने काम गरेको देखिन्छ ।