हरि-लक्ष्मी नारायण प्रसाद स्मृतिकोषद्वारा ६ वर्षसम्म निरन्तर सहयोग गर्ने घोषणा

- कोषले बागलुङ नगरपालिका-७ ढिकिचौरका बिनायक शर्मालाई ६ वर्षसम्म मासिक ५ हजारका दरले सहयोग गर्ने घोषणा गरिएको हो ।

-


     राम प्रसाद घिमिरे     
     भाद्र १६ गते २०७९ मा प्रकाशित


हरि-लक्ष्मी नारायण प्रसाद स्मृति कोष बागलुङद्वारा एकजना विद्यार्थीलाई ६ वर्षसम्मकालागि निरन्तर सहयोग गर्ने घोषणा गरिएको छ ।

कोषले बागलुङ नगरपालिका-७ ढिकिचौर निवासी जेहेन्दार बिद्यार्थी बिनायक शर्मालाई एमविविएस अध्ययन पूरा गर्ने समयसम्म मासिक ५ हजारका दरले सहयोग गर्ने घोषणा गरिएको हो ।

सहयोग प्राप्त गर्ने शर्माले एमविविएस अध्ययनकालागि नेपाल सरकारको पुर्ण छात्रवृत्तिको २ सय जनामा ८२ औं स्थानमा नाम निकाल्न सफल भएका थिए ।

अध्ययनका लागि पुर्ण छात्रवृत्तिमा नाम निकालेपनि होस्टेल बस्न आर्थिक अभाव भएको थाहा पाएपछि ठुलो सम्भावना बोकेको एक जेहेन्दार बिद्यार्थीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरिएको समाजसेवी एवं कोषका संयोजक श्रीजय श्रेष्ठले बताउनुभयो ।

घरको आर्थिक अवस्था न्यून भएका शर्मालाई एमविविएस पूरा नगर्नेबेला सम्म मासिक ५ हजारका दरले उनकै बैंक खातामा जानेगरी निरन्तर सहयोग गरिने कोषका संस्थापक एवं संरक्षक तिर्थप्रसाद श्रेष्ठले बताउनुभयो ।

कोषद्वारा बिहीबार शर्मालाई नगद ११ हजार हस्तान्तरण गर्दै सहयोगको सुरुवाद गरिएको हो ।

सानैदेखि डाक्टर बन्ने सपना रहेका शर्माले आफ्नो पढाइकालागि ६ वर्षसम्म सहयोग गर्ने हरि-लक्ष्मी नारायण प्रसाद स्मृतिकोष प्रति आभारी रहेको बताउनुभयो । यो सहयोगले आफुलाई पढ्न थप उर्जा मिलेको शर्माको भनाई रहेको छ।

नर्सरी देखि कक्षा १० सम्म आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयना पढेका शर्माले प्रविणता प्रमाणपत्र तह (११/१२) विज्ञान संकायमा विद्यामन्दिर माद्यामिक विद्यालयबाट उतिर्ण गरेका थिए ।

बागलुङका व्यवसायी तथा समाजसेवीहरु तीर्थप्रसाद श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र मनोविज्ञान श्रेष्ठले आफ्नो बुबा स्वर्गीय नारायण प्रसाद श्रेष्ठ र आमा स्वर्गीय हरिलक्ष्मी श्रेष्ठको स्मृतिमा वि.स २०७२ सालमा स्थापना गरिएको कोषले विद्यामन्दिर माध्यमिक विद्यालय, नेपाल पत्रकार महासंघ लगायतमा वार्षिक रुपमा सहयोग गर्दै आएको छ ।