
१५ आै राष्ट्रिय पुस्तकालय दिवस देशभर मनाउँदै गर्दा गण्डकी प्रदेशकै सबैभन्दा पुरानो सुविधासम्पन्न सामुदायिक पुस्तकालय विद्यामन्दिर पुस्तकालय बागलुङमा आएर अध्ययन गर्ने पाठकहरू घट्दै जान थालेको छ । विद्यामन्दिर पुस्तकालयमा मात्र नभएर गाउँ गाउँमा पुस्तकालय खोल्ने क्रम बढेपनि पुस्तकालयमा पाठक भित्र्याउन भने हम्मेहम्मे परिरहेको देखिन्छ ।
२००७ सालको जनक्रान्ति सफल पार्ने अभियानका साथ गण्डकी प्रदेशको दोस्रो ठूलो ब्यापारी केन्द्र बागलुङ सदरमुकाममा २००३ सालमा स्थानीय शिक्षा प्रेमी स्वर्गीय ओमप्रसाद गौचन र मेघकुमार बैधले स्थापना गरेको विद्यामन्दिर पुस्तकालय विगतमा खचाखच पाठक हुने गरेकोमा अहिले सुचना र संचारमा आएको फड्को संगै पाठक घट्दै जान थालेका हुन् ।
ऐतिहासिक महत्व बोकेको ७६ वर्ष पुरानो बागलुङको यो पुस्तकालय झण्डै एक दशक यता पाठकविहीन अवस्थामा पुग्न जान थालेपछि पुस्तकालयले पाठक बढाउन नयाँ नयाँ योजना अगाडि सारिएको छ ।१५ औ राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै गर्दा पुस्तकालयमा नयाँ पाठक बढाउन बिद्यार्थी लक्षित चित्रकला प्रतियोगिता गरेको बिद्यामन्दिर पुस्तकालयका पुर्व अध्यक्ष गोविन्द वझाले बताए ।
पुस्तकालयमा सबै खालका पुस्तक पत्रपत्रिका उपलब्ध भए पनि आधुनिक संचारका साधनको कारण यतिबेला पुस्तकालयमा पाठक घट्दै गइरहेको बिद्यामन्दिर पुस्तकालयका पुस्तकाध्यक्ष श्रेष्ठले बताए ।
सुचना र संचारमा आएको प्रगति संगै यतिबेला पुस्तक पत्रपत्रिका मोवाइलमा हेर्न पाउने भएको कारणले पनि केही वर्ष यता पुस्तकालयमा पाठक घट्दै गइरहेको विद्यामन्दिर पुस्तकालयका पुर्व अध्यक्ष लालचन्द्र राजभण्डारीले बताए ।
दुुई जना कर्मचारीले बिहान १० बजेदेखि बेलुका ५ बजे सम्म पुस्तकालय खुल्ला गरेर नियमित रेखदेख गर्दै आएपनि पुस्तक पढ्ने पाठकहरु भने आकर्षित हुन सकेका छैनन् । इ लाइब्रेरीमा केही बालबालिका मात्रै आउने गरेको देखिन्छ ।
बिदेशी दाता र शिक्षा प्रेमीको आर्थिक सहयोगमा निर्माण गरिएको भव्य चार तले पक्की भवन भित्र सुविधासम्पन्न पुस्तकालय छ। भवनको दोस्रो तलामा कम्प्युटर, र इन्टरनेट जस्ता उपकरणसहितको सूचना केन्द्र, वाचनालय र पुस्तक सङ्ग्रहालय भए पनि केही बर्ष यता पुस्तकालयको चाममा भने कमि आएको देखिन्छ । पुस्तकालयमा पाठक भित्र्याउन पुस्तकालय दिवसको अवसरमा चित्रकला ,लगायतका कार्यक्रम गर्दै आएपनि यसले खासै प्रभाव पारेको भने देखिदैन ।












