देउराली प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

-


     हिडन खबर    
     भाद्र १६ गते २०७९ मा प्रकाशित


सदरमुकाममा रहेर पनि स्थानीय सरकार लगायत सरोकारवाला निकायको नजरमा नपरेको बागलुङ नगरपालिका वडा नम्बर ४ मा अवस्थित देउराली प्राथमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरू लाई स्थानीय समाजसेवीले स्थापना गरेको स्मृति कोषबाट शैक्षिक सामाग्री तथा बिद्यालय पोशाक वितरण गरिएको छ ।

समाजसेवी स्वर्गीय नन्दप्रसाद उपाध्याय आचार्य र स्वर्गीय नन्दकली उपाध्याय आचार्यको स्मृतिमा छोराहरू शिवराम आचार्य ,पशुपति आचार्य ,यज्ञबल्लभ आचार्य र राजेन्द्र आचार्यले स्थापना गरेको २ लाख २२ हजार २ सय २२ रूपैयाँ को अक्षयकोष बाट बिद्यालयका बिद्यार्थीहरूलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य जसोदा शर्माले अभिभावक र बिद्यार्थीको रोजाइ निजी बिद्यालय भएको हुँदा सामुदायिक बिद्यालयको गुणस्तरमा सुधार ल्याएर देखाउने बेला आएको धारणा राख्नु भयो ।
बागलुङ नगरपालिकाका उप मेयर राजु खड्काले नगर भित्रको क्षिक्षा क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रम ल्याएको बताउनु भयो । बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कुमार बिक्रम क्षेत्रीले सामुदायिक विद्यालय यतिबेला
समुदायको कारणले नै धरासायी बन्दै गइरहेको हुँदा जबसम्म समुदायका बालबालिका विद्यालय पठाउने काम हुदैन तबसम्म
विद्यालयले केही गर्न नसक्ने बताउनु भयो । अहिले सामुदायिक विद्यालय आर्थिक अवस्था कम भएका, मजदुर,श्रमिकका बालबच्चा पढ्ने विद्यालय बन्दै गइरहेकोले उनीहरूको आमा बाबा जिल्ला छोडे संगै बालबालिका पनि जाने गरेको क्षेत्रीले बताए ।
नेपाली कांग्रेस क्षेत्रीय समिति प्रदेश क का सभापति हरिबहादुर जिसीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सवैले हातेमालो गर्न जरुरी रहेको बताउनु भयो ।

नन्द प्रसाद,नन्दकलि स्मृति संस्थाका संस्थापक शिवराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रम यज्ञबल्लभ आचार्यको स्वागत र सल्लाहकार राजेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

सरकारले सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीलाई निशुल्क शिक्षा दिदै आएपनि बिद्यालयमा बिद्यार्थी चाप बढ्नुको बदला दिनप्रतिदिन घटेर बिद्यालय बन्द हुने अवस्था पुगेको छ । अभिभावक स्वयं सामुदायिक बिद्यालय भन्दा निजी
बिद्यालयमा आकर्षित भएपछि जनतन चलिरहेको बिद्यालय समेत यतिबेला चलाउन हम्मेहम्मे परिरहेको देखिन्छ ।