बागलुङ नगर स्तरीय तिज गित नृत्य प्रतियोगिता सम्पन्न

- बागलुङ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित प्रतियोगितामा २७ विद्यालयको सहभागी रहेको थियो ।

-


     राम प्रसाद घिमिरे     
     भाद्र १२ गते २०७९ मा प्रकाशित


हरितालिका तिजको अवसरमा बागलुङमा विद्यालय स्तरीय तिज गित नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

बागलुङ नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नगरपालिका स्तरीय अन्तर विद्यालय खुल्ला तिज गित नृत्य प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।

बागलुङ नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरि २७ विद्यालयको सहभागी रहेको प्रतियोगितामा यु एस एकेडेमीको समुह प्रथम, अमर आदर्श माविको समुह द्वितिय, चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलको समुह तृतीय र मालिका आधारभूत विद्यालयको समुहले सान्त्वना स्थान प्राप्त गरेको शाखा अधिकृत गौरभ राना मगरले बताउनुभयो ।

प्रतियोगितामा विजयी समुहको प्रथमलाई १५ हजार, द्वितियलाई १२ हजार, तृतीयलाई ८ हजार र सान्त्वना हुने समुहलाई ५ हजार र प्रमाणपत्र द्वारा सम्मान गरिएको अधिकृत रानाले बताउनुभयो ।

पछिल्ला वर्षहरुमा आधुनिकताको बहानामा चाडपर्वमा मौलिकता नष्ट हुँदै गइरहेको अवस्थामा नेपाली परम्पराको संरक्षण र बिद्यार्थीको प्रतीभा पहिचान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेल बताउनुभयो ।

नेपाल कला संस्कृतिले भरिपूर्ण देश भएपनि नयाँपुस्तामा मौलिकता जगेर्ना गर्ने भावनामा कमि हुँदै गएको महसुस हुन थालेकाले यस्ता खालका कार्यक्रमले युवापुस्ता जागरण ल्याउन टेवा पुग्ने विश्वास गरिएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख वसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा सहभागी प्रतियोगीहरुले राष्ट्रियता, मौलिकता र महिलाका पिर वेदनाका गितहरुमा उत्कृष्ट प्रस्तुति गरेका थिए ।

नगरपालिका क्षेत्रभित्र सामुदायिक र संस्थागत गरि कुल १०३ विद्यालय रहेको भएपनि शनिबारदेखि परेको अविरल वर्षाका कारण गाउँका विद्यालयको सहभागी हुन नसकेको शिक्षा शाखाले जनाएको छ ।

कार्यक्रम नगर प्रमुख बसन्त कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलको अध्यक्षता, शाखा अधिकृत गौरभ राना मगर र शिक्षक जमुना श्रीष थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।