प्रगतिशील आमासमूहको देउसी–भैलोबाट १ लाख १२ हजार ४१५ रुपैयाँ संकलन

-


     सुजन आचार्य     
     कार्तिक २५ गते २०८३ मा प्रकाशित


बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१, कुश्मीसेरामा प्रगतिशील आमासमूहद्वारा आयोजित दुईदिने देउसी–भैलो कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा १ लाख १२ हजार ४१५ रुपैयाँ संकलन भएको समूहले जनाएको छ।

नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा सामाजिक सद्भाव र एकता कायम गर्ने उद्देश्यले तिहारको अवसरमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा स्थानीय बुबाआमा, दाजुभाइ, दिदीबहिनीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

समूहका अनुसार दुई दिनसम्म सञ्चालन भएको देउसी–भैलो कार्यक्रमबाट कुल १ लाख १२ हजार ४१५ रुपैयाँ संकलन भएको छ। कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति समूहले आभार व्यक्त गरेको छ।

कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग पुर्‍याउने नवीन जिसी, सुरेश सुनार, दिलिप थापा, मिलन थापा, सन्तोष थापा, दिपेन राई, मिलन घर्ती, डिल्ली पौडेल र कृष्ण शर्मालाई समूहले विशेष धन्यवाद दिएको छ।

स्थानीयवासीको माया, सद्भाव र सहयोगले कार्यक्रम सफल भएको उल्लेख गर्दै समूहले संकलित रकमलाई आगामी सामाजिक तथा रचनात्मक गतिविधिमा उपयोग गर्ने जनाएको छ।

देउसी–भैलो नेपाली मौलिक संस्कृति र परम्पराको महत्वपूर्ण पहिचान हो। यस्ता सामूहिक सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो कला, संस्कृति र परम्परासँग जोड्नुका साथै सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

प्रगतिशील आमासमूहले आगामी दिनमा पनि मौलिक कला, संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

समूहका अनुसार देउसी–भैलो कार्यक्रमबाट संकलित १ लाख १२ हजार ४१५ रुपैयाँ सामाजिक कार्यमा खर्च गर्ने योजना रहेको छ। समूहले आगामी दिनमा पनि सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।