
बागलुङ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङको आयोजना तथा ताराखोला गाउँपालिकाको समन्वयमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा प्रवर्द्धन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
ताराखोला गाउँपालिका–५ स्थित ताराखोला स्वास्थ्य चौकीको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, बाढीपहिरो प्रभावित व्यक्ति, शिक्षक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्थानीय समाजसेवी गरी ४१ जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता वडा नं. ५ का अध्यक्ष मनबहादुर रोकाले गरेका थिए भने सञ्चालन ताराखोला स्वास्थ्य चौकीकी अहेव निर्मला घर्ती मगरले गरेकी थिइन्।
कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख उदित थापा मगरले मानसिक स्वास्थ्य र योगको महत्त्वबारे जानकारी गराएका थिए। प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका जनस्वास्थ्य अधिकृत टिकराम भण्डारीले कार्यक्रमको उद्देश्यसहित मानसिक स्वास्थ्य समस्या, यसका कारण, प्रकार तथा व्यक्ति, परिवार र समुदायमा पर्ने प्रभावबारे सहजीकरण गरेका थिए।
उनले मानसिक स्वास्थ्य समस्याको रोकथाम तथा नियन्त्रणका लागि अपनाउनुपर्ने व्यवहार, स्वस्थ जीवनशैली, खानपान र तनाव व्यवस्थापनका उपायबारे जानकारी गराउँदै व्यक्ति, समुदाय, विद्यालय तथा स्थानीय तहको भूमिका र जिम्मेवारीबारे प्रकाश पारेका थिए।
त्यसैगरी, खुसीमान बागलुङका अध्यक्ष नारायण आचार्यले सकारात्मक सोच, स्वस्थ जीवनशैली, उचित खानपान तथा सकारात्मक आनीबानीका विषयमा जानकारी गराउनुका साथै सहभागीहरूलाई मनोपरामर्शसमेत प्रदान गरेका थिए।
कार्यक्रमले समुदायस्तरमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै मानसिक स्वास्थ्य समस्याप्रतिको नकारात्मक धारणा, भ्रम र विभेद न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, तनाव व्यवस्थापन, मानसिक स्वास्थ्य समस्याको समयमै पहिचान तथा आत्महत्या न्यूनीकरणका लागि समुदायमा सकारात्मक वातावरण निर्माण गर्न कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको आयोजकले जनाएको छ।











