
साविक धौलागिरी अञ्चलकै सदरमुकाम रहेको बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा पछिल्ला महिना यता ट्राफिक व्यवस्थापनमा प्रभावकारी बन्दै गएको छ ।
साँगुरा सडक, बढ्दो सवारीसाधनको चाप, सडकमा जथाभावी निर्माण सामाग्री राख्ने, पैदलमार्ग नहुनु, ट्राफिक जनचेतनाको कमी लगायतका समस्याले निकै चुनौतीपूर्ण बनेको बजारको ट्राफिक व्यवस्थापनमा सुधारकालागि अभियान सुरु गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, बागलुङ नगरपालिका, वडा नम्बर २ को कार्यालय, बागलुङ उद्योग बाणिज्य संघ, एवं धौलागिरी अस्पतालको सक्रियतामा बजारको अति समवेदनशील अस्पताल क्षेत्रबाट साङ्केतिक बोर्ड सहित नो पार्किङ, नो हर्न अभियान सुरु गरिएको हो ।
मंगलबारदेखि बजारको धौलागिरी अस्पताल क्षेत्र वरपरका सडकबाट उक्त अभियान सुरु गरिएको बागलुङ नगरपालिकाका वडा नम्बर-२ का सदस्य बिदेश कुमार श्रेष्ठले बताउनुभयो ।
पछिल्लो समयमा बढ्दो सवारी चापलाई ध्यान दिँदै चालकहरूमा ट्राफिक अनुशासन वृद्धि गर्नकालागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकाे र बजार क्षेत्रमा साङ्केतिक बोर्डको समेत व्यवस्था गर्न लागिएकाले यसमा सबैले सहकार्य र चासो दिएमा बागलुङ बजारको ट्राफिक व्यवस्थापन गर्न सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले बताउनुभयो ।
स्वरुप परिवर्तन गरि ध्वनि प्रदुषण गर्ने १ सवारीलाई कारबाही !
ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन गरि ठुलो आवाज गराउने र ट्राफिक नियम विपरीत परिवर्तन गरिएका दर्जनौं सवारीसाधन नियन्त्रणमा लिई कारबाही समेत गर्दै आएको छ ।
ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार पछिल्ला ३ महिनामा ट्राफिक नियम विपरीत स्वरुप परिवर्तन गरि बजारमा ध्वनि प्रदुषण गर्ने १ भन्दा बढि सवारीसाधनलाई कारबाही गरिएको प्रमुख केसीको भनाइ रहेको छ ।
साथै सरकारको नियम अनुसार २० वर्ष पुराना सवारी चलाउन नपाइने नियमानुसार चलिरहेका २ वटा सवारीसाधनलाई कारबाही गरि नचलाउन निर्देशन दिइएको केसीको भनाई रहेको छ ।
अस्पताल क्षेत्र सहित बजारका अन्य संवेदनशील क्षेत्रहरु पहिचान गरि यो अभियान थप बढाउँदै जाने केसीले बताउनुभयो ।












