
बागलुङ बजारमा भदौरे जात्राको रौनक चुलिन थालेको छ । बागलुङमा नेवारी संस्कृतिलाई जोगाएर राख्न यतिखेर बागलुङका युवाखरु खुलेर लागेका छन् । काठमाण्डौ उपत्यकाबाट करिव ३ सय वर्ष पहिला बसाइँ सरेर आएका नेवार समुदायले यो नाचलाई बचाएर राखेका छन् । भदौरे जात्रा अन्तर्गत यहाँ लाखे, बास्सा, रोपाइँ, जोगी, होवा, कटुवाललगायतका नाच तथा झाँकी निकाल्ने प्रचलन रहदै आएको छ । भदौरे नाचले पर्वमय माहोलको छनक दिने गरेको छ । नेवार समुदायका कलाकारले बर्सेनि जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे नाच प्रदर्शन गर्ने चलन छ ।
भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रुपमा भदौरे जात्रालाई लिने गरिएको छ । बागलुङमा वर्षे नाचसँगसँगै लाखे नाच निकाल्ने गरिन्छ । लाखे नाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल हुन्छन् । राक्षसको स्वरुप झल्कने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिँगारेर लाखे नचाउने गरिन्छ । जिल्लाका नेवार समुदायले वर्षे नाचका रुपमा लाखे,हनुमान, बास्सा, होबा, कटुवाल, रोपाइँ जोगीलगायतका नाच संरक्षण गर्दै आएका छन् ।
बागलुङ बजासरमा वसोवास गर्ने नेवार समुदायले देखाउने लाखे, होबा, कटुवाल, रोपाइँ, घोडा, जोगीलगायत यहाँका प्रचलित नाच हुन् । झण्डै ३०० वर्षअघि भक्तपुर, बनेपालगायतका ठाउँबाट बसाइँसराइ गरी आएका नेवारहरुले परम्परागत जात्रा र पर्वहरु भित्र्याएका हुन् ।
विगतमा २ वर्ष कोरोनाको कारण भीडभाडजन्य क्रियाकलापमा बन्देज लगाइएका कारण भदौरे जात्रा रोक्नुपरेको नेपाल भाषा मंकाःखल बागलुङका सचिव सुदीप राजभण्डारीले बताउनुभयो ।
पहिलेपहिले भदौरे नाच हेर्नकै लागि गाउँगाउँबाट मानिस बागलुङ बजार झर्थे । दिनभर जात्रामा रमाउने र चाडबार्डलाई किनमेल गरेर साँझपख घर फर्कने गर्थे । पछिल्लो समय भदौरे जात्राको रौनक घट्दै गए पनि नेवार परम्परा र संस्कृति जोगाउन जेनतेन लागिपरेका छन् ।
संरक्षण अभावमा कतिपय नाच भने हराएको नेवार अगुवा बताउँछन् । लाखे नाच्ने कलाकार पाउनै गाह्रो हुन थालेको उनीहरुको दुःखेसो छ ।
चलिआएको रीतिथिति धान्न पनि धौधौको स्थिति रहेको बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष युवराजराजभण्डारीले बताउनु भयो । पुस्तान्तरणको अभावमा ३०० वर्ष पुरानो लाखे नाचको अस्तित्व नै लोपहुने सम्भाबना बढेको छ । लाखे नाच गठेमङ्गलमा शुरु गरी तीजमा अन्त्य गर्ने चलन छ । प्राचिन कालमा राजाका सिपाहीले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति वियोगमा परेकी उनकी श्रीमती लाखे बनेर नाचेको किंवदन्ती छ ।त्यसको प्रतीकस्वरुप नेवार समुदायले बर्सेनी लाखे नाच प्रदर्शन गर्दै आएको भाषा मंका ः खलःका जिल्ला अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । पुस्तान्तरणको अभावमा नागनागिनीसहित कतिपय नाच हराइसकेका छन् । पछिल्लो समय लाखे नाच्ने कलाकारको पनि खाँचो खड्किएको छ ।
लाखेनाचको कला र शिल्प नयाँ पुस्तामा पुग्न नसक्दा नाचै सङ्कटमा पर्ने चिन्ता बढेको छ ।









